Date : 2023-04-20


यूएईमा एक नेपाली ड्राइभरले जिते पौने ७२ करोडको चिठ्ठा

यूएईमा एक नेपाली ड्राइभरले जिते पौने ७२ करोडको चिठ्ठा 

वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) गएका एक नेपाली कामदारले ७१ करोड ७७ लाख रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् । पदम नामका नेपाली कामदार यूएईमा ड्राइभर पेशामा रहेका छन् । उनको नेपाली ठेगाना भने खुलाइएको छैन ।


महजुजको १२४औं संस्करणको पहिलो पुरस्कार भएपनि पदमले जितेको सन् २०२३ को पहिलो पुरस्कार हो । विगत २३ वर्षदेखि यूएईमा रोजगारी गर्दै आएका पदमले मासिक ५ हजार ७ सय दिराम (२ लाख ५ हजार रुपैयाँ) कमाउँदै आएका छन् । उनले आपत विपदमा परेका नेपालीलाई सहयोग गर्दै आएका थिए । 


पटकपटक चिठ्ठा खरिद गर्दै आएका उनले एक पटक ३० र एक पटक ३ सय ५० दिराम जितेका थिए । ४ डिजिटको चिठ्ठामा उनले एउटा नम्बर छोरी र श्रीमतीलाई रोज्न लगाएका थिए भने बाँकी तीनवटा नम्बर आफैं छनोट गरेका थिए ।


उनले उक्त रकमले आफ्नो परिवारलाई यूएईमा सेटलमेन्ट गर्ने बताएको खालिज टाइम्सले उल्लेख गरेको छ । सोही संस्करणको एक मिलियन दिरामको पुरस्कार निजी अस्पतालमा रेडियोग्राफरको रोजगारीमा रहेका फिलिपिनी कामदारले जितेका छन् ।