Date : 2025-10-27


युएईको भिसा रोकिँदा हजारौं कामदार मर्कामायुएईको भिसा रोकिँदा हजारौं कामदार मर्कामा

 प्रमुख श्रम गन्तव्य मुलुक युनाइटेड अरब इमिरेट्स (युएई)ले भिसा रोक्दा ठुलो संख्यामा नेपाली कामदार प्रभावित भएका छन् । अघिल्लो महिना भदौमा नयाँ २० हजार र रिइन्ट्री ५ हजारसमेत गरी २५ हजारभन्दा बढी नेपाली कामदार युएई गएका थिए ।

असोजमा भने जाने क्रम लगभग ठप्पको अवस्था छ । हालको अवस्था सुधार नभए कात्तिक महिनामा पनि नेपाली कामदार जान नपाउने त्रास वैदेशिक रोजगार क्षेत्रमा गहिरिएको छ । 

युएईले नेपाली कामदारलाई भिसा रोकेको एक महिना पुगेको छ । तर उक्त मुलुकले नेपाली कामदारको भिसा रोकेको औपचारिक रूपमा नेपाललाई जानकारी भने दिएको छैन ।

मागपत्र प्रमाणीकरणमार्फत नेपाल आउने राजस्व रोकिएको र रेमिट्यान्स सुस्त हुन थाल्दा रोजगारीलाई सहज बनाउने ठोस पहल नेपाल सरकारका तर्फबाट भएको छैन । नेपाली अधिकारी औपचारिकतामा रमाएको टिप्पणी दैनिक रूपमा बढेको छ । नेपाली कामदारका लागि भिसा रोकेको जानकारी कुटनैतिक माध्यमबाट नपाएको भन्नु ठोस पहल गर्न नसकेको कमजोरी लुकाउने बहाना भएको धेरैको भनाइ छ ।

नयाँ सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा र परराष्ट्र मन्त्रालयले विभागीय मन्त्री पाउन सकेका छैनन् । वैदेशिक रोजगार व्यवसायीले व्यवसायीहरूको छातासंस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र युएईस्थित नेपाली राजदूतावासले पनि स्थिति बिग्रिन लाग्दा समेत ठोस पहल नगरेको गुनासो पनि त्यत्तिकै छ ।

नेपालबाट रोजगारीका लागि युएई जाने कामदार आपराधिक पृष्ठभूमिका होइनन् । असल चालचलनको प्रहरी रिपोर्ट भएका उनीहरूलाई किन रोकियो ? भनेर युएईमा रहेका नेपाली   राजदूतले युएई सरकारसमक्ष प्रश्न उठाउने र असन्तुष्टि राख्न सक्ने कुटनैतिक अवस्थामा पनि त्यो प्रक्रिया अवलम्बन गरेको देखिएको छैन । यसले युएईमा रहेकोे नेपाली राजदूतावास राष्ट्रहितको प्रवर्धनका लागि प्रतिबद्ध छ ? भन्ने प्रश्न पनि धेरैको मनमा उठेको छ ।

सबै नेपाली कामदारमाथि अपराधमा संलग्न भएको एकमुष्ट आक्षेप लगाएको र नेपालले समयमा प्रतिवाद नगरेका कारण नयाँ भिसा जारी नभएको अवस्थाले नेपालले लामो समयका लागि प्रमुख रोजगार गन्तव्य गुमाउन सक्ने खतरा बढेको छ ।