Date : 2023-05-24


व्यक्तिगत कारणले विदेशबाट फर्केका उजुरी बढेको वैदेशिक रोजगार व्यवसायीहरूको गुनासो

नेपाली कामदार वैदेशिक रोजगारमा जाने मुलुकहरुमा आर्थिक गतिविधि सुस्त देखिएपछि वैदेशिक रोजगार व्यवसायीमाथि आफूले पठाएका कामदार व्यवस्थापन गर्ने दबाब बढ्न थालेको छ । नेपाली कामदारका प्रमुख गन्तव्य मुलुक मलेसिया, कतार र साउदी अरेबियामा आर्थिक गतिविधि सुस्त हुँदा ओभरटाइमको अपेक्षा राख्ने नेपाली कामदारहरूले नियमित ८ घण्टाको काम पनि नपाउने अवस्था देखिएको व्यवसायीहरू बताउँछन् ।

 

यूएईमा बाइक राइडरमा गएका कामदारले लाइसेन्स बनाउन नसक्ने र लाइसेन्स बनाउन सक्नेहरूले पनि जीपीएस सिष्टमबाट तोकिएको समयमा डेलिभरी दिन नसक्दा काम छाडेर फर्किनेको संख्या बढेको छ । बाइक राइडर र ड्राइभरको काममा कामदार पठाएका म्यानपावर व्यवसायी कतिबेला कामदार फर्काउन पर्ने हो भन्ने तनावमा देखिन्छन् । 

 

वैदेशिक रोजगार व्यवसायी तथा वैदेशिक रोजगारीमा जाने कामदारहरुको समस्या सहजीकरण गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्वारा गठित समितिका संयोजक कर्ण कटुवाल विभिन्न बहानामा स्वदेश फर्किने र वैदेशिक रोजगारको प्रक्रियामा शुरूवातदेखि भएको सबै खर्च व्यवसायीबाट असुली गराउन अस्वभाविकरूपमा दबाब दिने प्रवृत्ति बढेको बताउँछन् । 

 

विदेशमा कामदारले नेपालमा भनेअनुसारको ओभरटाइमको काम नपाएपछि वैदेशिक रोजगारमा जाने कामदार र शुरूमा सम्पर्कमा रहने ऐजेन्टबीच झगडा हुने र उक्त झगडालाई तह–तह हुँदै विभाग ल्याएर अन्तिममा म्यानपावर कम्पनीलाई समस्यामा पार्ने गरिएको संयोजक कटुवालले बताए ।

 

संघ कार्यसमितिले वैदेशिक रोजगार विभागमा आउने समस्याको समाधानका लागि गत माघ २८ गते संघका सचिव कटुवालको संयोजकत्वमा वैदेशिक रोजगार विभाग बुद्धनगर समन्वय समिति गठन गरेको थियो । समिति संयोजक कटुवालले वैशाख मसान्तसम्म संघको मेलमिलाप समितिमा १ सय २३ निवेदन आएकोमा ७७ वटा मिलापत्र गराएको, ३३ वटा निवेदन सम्बन्धित म्यानपावर कम्पनीको कार्यालयमा पठाइ समस्या समाधान गरेको र प्रयास गर्दा पनि समाधान हुन नसकेका १३ वटा निवेदन कानूनी प्रक्रियाका लागि विभाग पठाएको बताए ।

 

समितिका अर्का सदस्य बिक्रम श्रेष्ठले वैदेशिक रोजगार प्रक्रियामा कुनै भूमिका नरहेका बिचौलियाले अनुचितरूपमा रकम लिने तर कामदार समस्यामा परे उद्धार गर्नुपरे वा व्यवस्थापन गर्नुपरेको अवस्थामा व्यवसायीले आर्थिक दायित्व व्यहोर्नुपर्ने अवस्था देखिएकाले व्यवसायी गम्भीर सचेत हुन नसके समस्यामा पर्ने अवस्था रहेको अनुभव सुनाए ।  

 

विभागमा प्रत्येक दिन दिउँसो दुई बजेदेखि ५ बजेसम्म समितिका कम्तीमा ३ जना सदस्यले पीडित कामदार र म्यानपावर कम्पनी सञ्चालका बीचमा छलफल चलाउने गरेकोे छ । समितिले विभागमा म्यानपावर कम्पनीविरूद्ध परेका उद्धार, राहत, फिर्ता तथा क्षतिपूर्तिका उजुरीमाथि औपचारिक तथा अनौपचारिकरूपमा छलफल गरेर सहमति गराएर उजुरी फर्छौटका लागि प्रयास गर्दा पीडित कामदार र पठाउने व्यवसायी दुवैलाई सहज भएको समितिका अर्का सदस्य देउमान नेम्वाङले बताए ।

 

व्यक्तिगत कारणले विदेशबाट फर्केका वा म्यानपावर कम्पनीबाट फर्काइएकामध्ये अधिकांश कामदार स्वदेश फर्केपछि आफू पीडित भएको भन्दै क्षतिपूर्तिको माग गर्दै विभागमा उजुरी दिने गरेको र विभागले सामान्य छानबिनबिना नै उजुरी दर्ता गरी व्यवसायीलाई विभाग आउन हतार–हतार पत्र पठाउने गरेका कारण उजुरी बढेको वैदेशिक रोजगार व्यवसायीहरूको गुनासो थियो ।

 

समितिले छलफल चलाउन शुरू गरेपछि उजुरी पर्नासाथ हतार–हतार पत्र पठाउने विभागको शैलीमा पनि परिमार्जन देखिएको बताइएको छ ।