Date : 2023-05-22


वैदेशिक रोजगारमा जानेको संख्या घट्दै

पछिल्ला महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा कमी आइरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको दश महिनामा ६ लाख ६० हजार २ सय ५५ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसमध्ये ४ लाख २१ हजार २ सय ७९ जनाले नयाँ र २ लाख ४४ हजार ९ सय ९६ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

 

वैशाखमा नयाँ र पुनः श्रम स्वीकृति गरी ५४ हजार ४ सय ५७ जनाले श्रम स्वीकृति लिएका छन् । जसमध्ये ४ हजार ९ सय ४८ जना महिला र ४९ हजार ५ सय ९ जना पुरुष श्रमिक छन् । चैतमा उक्त संख्या ६१ हजार ४ सय ७८ थियो ।

 

कोरोना महामारीपछि मलेसिया जाने क्रम बढेको हो । त्यसयता निरन्तररूपमा मलेसिया जाने बढेका छन् । वैशाखमा मलेसिया जान १४ हजार ६ सय ३७, कतार जान १० हजार २ सय ३०, यूएई जान ९ हजार ४ सय ८३ र साउदी अरब जान ८ हजार ६ सय ८१ जनाले श्रम स्वीकृति लिएका छन् ।

 

कुवेत जान २ हजार १ सय १० जना, रोमानिया जान १ हजार ६ सय ६, जापान जान ८ सय १७, बहराइन जान ५ सय ५, पोल्याण्ड जान ६ सय ५, साइप्रस जान ४ सय ६० जना, दक्षिण कोरिया जान २ हजार ५ सय ७४, ओमान जान ३ सय ५० र मकाउ जान ३ सय २३ जनाले श्रम स्वीकृति लिएका छन् ।