Date : 2023-06-28
वैदेशिक रोजगारलाई पूर्णतः प्रविधिमा आधारित बनाइन्छ : मन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारलाई पूर्णतः प्रविधिमा आधारित बनाउने बताएको छ । विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले उक्त जानकारी दिएका हुन् ।
वैदेशिक रोजगारमा जाने कामदार ठगिएको गुनासो आइरहेको भन्दै मन्त्री भण्डारीले ठगी नियन्त्रण गरी वैदेशिक रोजगारमा जाने नेपालीलाई सुरक्षित बनाउन प्रविधिको प्रयोगले विशेष भूमिका खेल्ने बताए ।
वैदेशिक रोजगार रहर नभई बाध्यता हो भन्ने विश्लेषणमा मन्त्रालय रहेकोे जानकारी दिँदै मन्त्री भण्डारीले सीपयुक्त जनशक्ति तयार गरी अन्तर्राष्ट्रिय रोजगार बजारलाई पहिचानयुक्त बनाई नयाँ गन्तव्यको खोजी गर्ने लक्ष्य रहेकोे जानकारी दिए ।
विदेशमा सिकेको सीप, ज्ञान र प्रविधिलाई स्वदेशको विकासमा लगाउने गरी काम गर्नुपर्छ भन्ने मान्यताका आधारमा स्वदेश फर्किएका श्रमिकलाई सबै स्थानीय तहमार्फत पुनःएकीकरण गरी समाजमा पुनःस्थापनाको कार्यक्रम अघि बढाएको समेत जानकारी दिए ।