Date : 2023-08-24
वैदेशिक रोजगारीका नाममा ठगी, तीन जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरी फरार तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालीकोट तिलागुफा नगरपालिका–३ घर भइ हाल काठमाडौंको कीर्तिपुर बस्ने ५२ वर्षीय विष्णुऋषि पाण्डे, सर्लाहीको लालबन्दी–२ का सुमन बुढाथोकी र इलामको सूर्योदय नगरपालिका–१४ घर भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा बस्ने ३० वर्षीय छविलाल अधिकारी रहेका छन् ।
तिलागुफाका पाण्डेले तिर्थबहादुर थापाबाट वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु र ८ लाख रुपैयाँ लाग्ने भन्दै चार लाख २४ हजार रुपैयाँ लिएका थिए । इटाली पुगेपछि पेट्रोल पम्पमा काम लगाइदिने र मासिक एक लाख तलब हुन्छ भनी पटकपटक गरी ४ लाख २५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि पाण्डेविरुद्ध वैदेशिक रोजगार विभागले प्रहरीलाई पक्राउ गरिदिन अनुरोध गरेको थियो ।
विभागको पत्राचारअनुसार खोजतालस गर्ने क्रममा पाण्डेलाई मंगलबार दिउँसो ३ बजे कीर्तिपुरबाट पक्राउ गरी अनुसन्धानका लागि विभागमा बुझाइएको प्रहरीले बताएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका–२ घर भइ हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २७ वर्षीय सुमन बुढाथोकीसहित दुई जनाले विनोद श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भन्दै प्रतिव्यक्ति ६ लाख ५० हजार रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि ५० हजारभन्दा धेरै तलब हुन्छ भन्दै पटकपटक गरी पीडितबाट एक लाख ५० हजार रुपैयाँ लिएर फरार भएका थिए ।
पीडितले विभागमा उजुरी दिएपछि उनीहरुलाई पक्राउका लागि विभागले प्रहरीलाई पत्राचार गरेको थियो। विभागको पत्राचारपछि सुमन बुढाथोकीसहित इलामका छविलाल अधिकारीलाई बुधबार दिउँसो २ बजे सामाखुसीबाट पक्राउ गरिएको हो । पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।