Date : 2023-04-20


वैदेशिक रोजगार विभागले जापानमा कामदार पठाउन चाहने म्यानपावर कम्पनी

वैदेशिक रोजगार विभागले जापानमा कामदार पठाउन चाहने म्यानपावर कम्पनीलाई सूचीकरण हुन आह्वान गरेको छ । विभागले मंगलबार सूचना जारी गर्दै वैदेशिक रोजगार ऐनको दफा ११ अनुसार दर्ता भई वैदेशिक रोजगार नियमावलीको नियम १६ अनुसार योग्यता पुगी जापानमा वैदेशिक रोजगारमा कामदार पठाउन चाहने म्यानपावर व्यवसायीले वैशाख १२ गतेसम्म तोकिएका कागजात पेश गरी आवेदन दिनुपर्ने बताएको छ ।

 

विभागले नवीकरण हुन चाहेको निवेदनसहित सूचीकरण हुने सञ्चालक समितिको निर्णयसहितको माइन्युट, २०८० असार मसान्तसम्म नवीकरण भएको कम्पनीको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने बताएको छ । 

 

त्यसैगरी गत आर्थिक वर्ष ०७८÷०८९ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, कम्पनी अध्यावधिक, अध्यावधिक भएको शेयर लगतको प्रतिलिपि, प्यान नम्बर, बैंक ग्यारेन्टीको प्रतिलिपि, नगद धरौटी रसिदको प्रतिलिपि, वैदेशिक रोजगार बोर्डको बैंक खातामा २० हजार रुपैयाँजम्मा गरेको बैंक भौचरलगायत पेश गर्नुपर्ने बताएको छ ।

 

यसअघि म्यानपावर कम्पनीले प्रशिक्षार्थी कामदार जापान पठाउनका लागि विभागले सूचना आह्वान गरेपछि करिब साढे दुई सय म्यानपावर कम्पनी सूचीकृत भएका थिए । विभागमा सूचीकरण हुने तर जापानमा कामदार पठाउन नपाउने भएपछि धेरै म्यानपावर कम्पनीहरुले जिट्को तर्फको लाइसेन्स नवीकरण गराउन छोड्दै आएका छन् ।