Date : 2023-08-21


वैदेशिक रोजगार कार्यालय मा फेरि बिचौलिया सलबलाउँदै

 वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार कार्यालय ताहाचलमा फेरि बिचौलियाहरुले चहलपहल बढाउन थालेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै विभागले  सेवा लिन आउने सेवाग्राहीहरुको संख्या बढिरहेको भन्दै विभाग र कार्यालयमा कार्यरत कर्मचारीहरुले सेवाग्राहीहरुलाई सहज र सरलरुपमा सेवाप्रवाह गरिरहेको अवस्थामा अनधिकृत  व्यक्तिहरु प्रवेश गरी अनावश्यक भिडभाड गर्दा सेवाग्राहीमा कठिनाइ परेको उल्लेख गरेको छ ।

 

विभागले सेवाप्रवाहमा सहजीकरण तथा अन्य कामको सिलसिलामा विभाग, कार्यालयको प्रशासनिक भवनभित्र प्रवेश गर्ने म्यानपावर कम्पनी अर्थात इजाजतवाला संस्थाका सञ्चालक तथा प्रतिनिधिले अनिवार्यरुपमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जारी गरेको परिचयपत्र लगाउनुपर्ने एवम् अन्य सेवाग्राहीले आफ्नो परिचय खुल्ने कागजात साथमा  लिएर आउनुपर्ने बताएको छ ।

 

विगतमा छिटो काम गराइदिने भन्दै उक्त कार्यालय वरिपरि बिचौलियाले घेरा जमाएर बस्ने गरेका थिए । विभागले अनलाइन पोर्टल (एफइआइएमएस)मार्फत श्रम स्वीकृति दिन थालेपछि विगत लामो समयदेखि उक्त कार्यालय सुनसान बनेको थियो । गत असारमा विभाग बुद्धनगरबाट ताहाचल सरेपछि चलखेल गर्ने पुराना बिचौलिया सलबलाउन थालेको कतिपयको भनाइ छ ।