Date : 2023-05-09


विदेशबाट फर्किने नेपाली नागरिकलाई २ वटा मोबाइल

सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल ल्याउन दिने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको छ । हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ ।

त्यस्तै, सरकारले सहकारी क्षेत्रको समग्र सुधारका निम्ति कार्यदल गठन गरेको छ । त्यसैगरी सरकारले नेपाल कृषि वन सेवा समीकरणको सचिव पदमा रेवतीरमण पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कोहलपुर वितरणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने भन्ने निर्णय गरिएको बताइन् ।

उनले भनिन् ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा ढल्केबर–वाणगङ्गा १३२ केभी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने भन्ने निर्णय भएको छ ।’

मन्त्रिपरिषद्को बैठकले कोहलपुर वितरण केन्द्रका लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक कारबाही चलाउनको निम्ति सम्बन्धित प्रशासकीय अधिकृत अधिकारीलाई तोक्ने पनि निर्णय गरेको छ ।

‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा इसिमोड बोर्ड अफ गभर्नमेन्स मिटिङमा सहभागी हुनका लागि योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने पनि निर्णय भएको छ’, उनले भनिन् ।