Date : 2023-07-04
विदेशी कामदारको स्वीकृतिमा लगाएकाे प्रतिबन्ध तत्काल फुकुवा गर्न मलेसिया सरकारसँग माग
क्वालालम्पुर : मलेसियन उत्पादक महासंघ (एफएमएम)ले सबै नयाँ विदेशी कामदारको स्वीकृतिमा लगाएकाे प्रतिबन्ध तत्कालै फुकुवा गर्न सरकारसँग माग गरेको छ । मलेसियाले ९ लाख ९५ हजार ३ सय ९६ विदेशी कामदारको एप्रुभल दिएपछि गत मार्च १८ बाट नयाँ विदेशी कामदारको एप्रुभल राेकेकाे छ ।
महासंघ अध्यक्ष साे थियान लाइले आमरूपमा विदेशी कामदारको एप्रुभल राेक्ने निर्णयले विदेशी कामदारहरूको पेन्डिङ कोटा स्वीकृतिमा कामदार आउन बाँकी नभएका कम्पनीहरू र नयाँ स्थापना भएका कम्पनीलाई प्रतिकूल असर परेको बताएका छन् । महासंघले विदेशी कामदारको एप्रुभल राेक्ने सरकारी निर्णयले मलेसियाको उत्पादकता र कुल गार्हस्थ्य उत्पादन (जीडीपी)लाई असर गर्ने बताउँदै निर्णय तत्कालै परिवर्तन गर्न माग गरेका छन् ।
मलेसियामा विदेशी कामदारको विषयलाई गृह मन्त्रालयले निर्णय गर्ने गरेको छ । बिहीबार गृहमन्त्री सैफुद्दीन नासुशन इस्माइलले करिब १८ लाख अनुमतिपत्र स्वीकृत भइसकेकाले तत्कालै नयाँ विदेशी कामदारलाई प्रवेश दिने सरकारको कुनै योजना नभएको बताएका थिए । मलेसियन अनलाइन दि स्टारका अनुसार गृह मन्त्रालयले हालसम्म रिक्यालिब्रेसन कार्यक्रममार्फत ६ लाख ८० हजार विदेशी कामदार दर्ता गरेको छ । यसको विपरीत मानव संशाधन मन्त्रालयले १ करोड ३० लाख कामदारका लागि कोटा स्वीकृत गरेको बताएको छ । अध्यक्ष सोह थियानले मूल्यको चाप र कडा वित्तीय अवस्था जस्ता विभिन्न कारणले गर्दा विश्वव्यापी व्यापारसँग प्रतिस्पर्धा झेल्नुपरेकाे र परिणाम स्वरूप स्वीकृत विदेशी कामदार कोटा भएका केही उद्योगहरूले यस वर्षका लागि आफ्नो रणनीति परिमार्जन गर्नुपरेको बताए ।
सरकारले केही उद्योगहरूले कामदार ल्याउन जानजान ढिलाइ गरेको बताउने गरेको छ। तर अध्यक्ष सोह थियानले विदेशी कामदारको लेवी भुक्तानी गरिसकेका उद्योगहरूले जानाजानी स्वीकृत काेटामा कामदार ल्याउन ढिलाइ नगर्ने दाबी गरेका छन् । सोहले विदेशी कामदारकाे नयाँ एप्रुभल राेक्ने निर्णय अहिलेकै अवस्थामा यथावत् भए मलेसियामा नयाँ विदेशी लगानीसमेत खतरामा पर्ने भन्दै सरकारी पक्षको ध्यानाकर्षण गराएका छन् ।
कतिपयले मलेसिया गएका कयौंं आप्रवासी कामदार रोजगारी नपाएर अलपत्र परेको बताएका छन् । अध्यक्ष सोहले आउटसोर्सिङ एजेन्टहरूलाई भर्तीको लागि अनुमति नदिन सरकारलाई बारम्बार सम्झाएको बताउँदै भनेका छन्, 'रोजगारदातालाई मात्रै विदेशी कामदार ल्याउने अनुमति दिनुपर्ने छ, कुनै व्यक्तिलाई विदेशी कामदार ल्याउने अधिकार हुनु हुँदैन ।'
मलेसियामा विदेशी कामदार भर्ना प्रकरणकाे अलमलकाे असर उक्त मुलुक जाने नेपाली कामदार र रेमिट्यान्समा आधारित नेपाली अर्थतन्त्रमा समेत परेको छ । वैदेशिक राेजगारीका लागि मलेसिया जानेक्रम गत कात्तिकदेखि घट्न थालेको छ । कात्तिककाे तुलनामा वैशाख महिनामा राेजगारीका लागि मलेसिया जानेक्रम ५५ प्रतिशत भन्दा बढीले घटेको छ । गत कात्तिकमा २५ हजार ३ सय ४० नेपाली कामदार गएको मलेसियामा वैशाख महिनामा ११ हजार ३ सय १० जना मात्र संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत गएका छन् । वैदेशिक राेजगार विभागले जेठ महिनामा मलेसिया गएका कामदारको विवरण सार्वजनिक गरिसकेको छैन ।