Date : 2023-06-29
विमानस्थलमा तीन जनाको नियम: सर्वसाधारणलाई मात्र कि भीआईपीलाई पनि
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा “एकजना यात्रुका लागि बढीमा तीन जना मात्र आएर स्वागत तथा बिदाइ गर्न” नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा विज्ञप्तिमार्फत् असार १२ सर्वसाधारणहरूलाई अपील गर्यो।
विज्ञप्तिमा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने भिडभाडका कारण ट्राफिक व्यवस्थापन कठिन भएको र दुर्घटनाको जोखिम बढेको जनाइएको थियो।
उक्त अपीललाई सामाजिक सञ्जालका कतिपय प्रयोगकर्ताले “स्वागतयोग्य” भएको बताए भने कतिपयले आलोचना गरेका छन्।
“म विदेश जाने बेला बिदाइ गर्न आउन पाइएन भनेर नरिसाओ है, मेरा प्यारा मान्छेहरू। अबदेखि विमानस्थलमा तीन जना मात्रै जान पाइने भएको छ,” हेटौँडाका किशोर खत्रीले फेसबुकमा व्यङ्ग्यात्मक शैलीमा लेखे।
"भीआईपीलाई पनि लागु हुने भए सबैले स्वागत गर्छन्। नत्र सर्वसाधारणका लागि मात्र जारी हुने नियम/कानुनप्रति मेरो घोर आपत्ति छ,” उनले बीबीसीसँग प्रतिक्रिया जनाउँदै भने।
“हामी खाडी जानेआउनेलाई त त्यही तीन जना पनि धेरै भयो। को पो आउँथ्यो र? तर युरोप, अमेरिका अनि जापान, कोरिया जानेआउनेलाई गाह्रो पर्ला कि? एउटा बिहेको जन्तीजत्रै लर्को हुन्थ्यो,” अर्का फेसबुक प्रयोगकर्ता मोहम्मद मुख्तारले लेखेका छन्।
उक्त विषयबारे विभिन्न कोणमाथि टीकाटिप्पणी भइरहँदा उक्त अपील प्रभावकारी देखिएको अधिकारीहरूले बताएका छन्।
“विमानस्थलमा भिडका कारण समस्या नै परेपछि त्यस्तो आग्रह गरेका हौँ। हाम्रो अपील प्रभावकारी देखिएको छ। भिड नियन्त्रणमा नागरिक स्तरबाट सहयोग पाएको जस्तो देखिएको छ,” विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले बीबीसीसँग भने।