Date : 2023-10-31


विभागद्वारा श्रम स्वीकृतिको अल्पकालीन समाधान

वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका लागि प्रयोगमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा देखिएको समस्या अस्थायीरुपमा समाधान गरिएको बताएको छ । दशैंको बिदा सकिएर कार्यालय नियमितरुपमा खुलेको केही दिन नबित्दै प्रणालीको डेस्कटप एप्लिकेसनमा श्रमिकको ओरियन्टेशन र बायोमेट्रिकको कनेक्सनमा समस्या उत्पन्न भइ श्रम स्वीकृति रोकिएको थियो । विभागले श्रम स्वीकृतिको समस्या समाधानका लागि हाललाई नयाँ र पुनः श्रम स्वीकृतिका लागि फेमिसमा बायोमेट्रिक प्रणालीलाई हटाइ ‘स्कीप गरी’ ओरियन्टेशन सेक्सनका लागि विभागमा दर्ता भएका ओरियन्टेशन संस्थाले प्रदान गरेको दुईदिने तालिमको प्रमाणपत्रको प्रति अपलोड गर्नुपर्ने बताएको छ । विभागले अनलाइन प्रणालीको माध्यमबाट सेवा प्रदान गरेर फेसलेस, क्यमसलेस र पेपरलेस वैदेशिक रोजगार प्रशासनको पैरवी गरिरहेको छ । विभागका कम्प्युटर इन्जिनियर नरेन्द्र प्रसाद दासले आइतबार समस्याको तत्कालै समाधान गर्न विभागको प्राविधिक जनशक्ति लागिपरेको बताएका थिए । तर कमजोर क्षमताको फेमिसका कारणले छिटोछिटो समस्या देखिने गरेको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् ।