Date : 2023-06-21


विभागले म्यानपावर कम्पनीहरुलाई अटोमेशन तालिम दिने

आगामी आर्थिक वर्षको प्रारम्भ अर्थात साउन १ गतेदेखि स्वचालित प्रणाली (अटोमेसन)मार्फत पूर्व र अन्तिम श्रम स्वीकृति दिने तयारीमा रहेको वैदेशिक रोजगार विभागले त्यसका लागि तीनदिने प्रशिक्षण सञ्चालन गर्ने भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँगको सहयोगमा असार १३ देखि १५ गतेसम्म काठमाडौंमा अटोमेसन सञ्चालन सम्बन्धमा विज्ञबाट व्यवसायीलाई प्रशिक्षण दिने तयारी भएको संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए । उनका अनुसार प्रशिक्षणमा म्यानपावर कम्पनीका एक जना सञ्चालक तथा दुई जना कर्मचारीलाई सहभागी गराइने तयारी छ । प्रशिक्षण अनुपम फुडल्याण्डमा हुने बताइएको छ । म्यानपावरहरूले आफ्नै कार्यालयमा बसेर वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीबाट अनलाइन आवेदन गरेपछि स्वतः श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्ने निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसअघि पटक–पटक बताइसकेको छ । विभागले श्रम स्वीकृतिको सबै अधिकार व्यवसायीलाई दिने र गलत गरेमा लाइसेन्स खारेजीसम्मको कारबाही गर्ने बताएको छ । त्यसैले प्रशिक्षण महत्वपूर्ण भएको भन्दै महासचिव भुर्तेलले सबै व्यवसायीले हेलचेक्राई नगरी प्रशिक्षणमा सहभागी हुनु आवश्यक रहेको बताए । प्रशिक्षणमा कर, कानूनलगायतका विषयमा पनि जानकारी गराइने महासचिव भुर्तेलले बताए । अटोमेसन प्रणाली कार्यान्वयनमा आएपछि पूर्व र अन्तिम श्रम स्वीकृतिका लागि फाइल बोकेर म्यानपावर कम्पनीका सञ्चालक वैदेशिक रोजगार कार्यालयहरूमा जानुनपर्ने विभागको भनाइ छ । उक्त प्रणालीबाट काम शुरू भए श्रम स्वीकृतिका लागि आएका आवेदनको विवरण प्रमाणीकरण र अनुगमनको काम पनि अधिकृत तहका कर्मचारीहरूले मात्रै गर्ने विभागले बताएको छ ।