Date : 2023-06-05
देशभर तापक्रम बढ्दो क्रममा, तराईमा लू
हाल देशभरको अधिकतम र न्यूनतम तापक्रम बढ्दो क्रममा रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही भू-भागहरूमा तातो हावा र लू चलिरहेको छ। बढ्दो गर्मीसँगै तराई क्षेत्रमा दिउँसो तातो हावा लू चलिरहेको छ। तापक्रम उकालो लागेपछि अधिकांश भेगको जनजीवन प्रभावित बन्न थालेको छ।
गर्मी मौसममा खास गरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा बहन थाल्छ, जसलाई ‘लू’ भनिन्छ। यो समयमा तापक्रम बढेर ४० देखि ४२ सेन्टिग्रेडसम्म पुग्छ।
दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, भैरहवा, दाङ, जनकपुर, सिमरा र आसपासका भेगको तापक्रम निकै बढेको छ।
पश्चिमी वायु कमजोर रहेकाले अझै केही दिन तापक्रम बढ्ने महाशाखाले जनाएको छ। अत्यधिक गर्मी र लूबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ, जुस, सर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह सुझाव लिन पनि महाशाखाले सुझाएको छ ।
लक्षण
– शरीरमा पानी र नुनको मात्रा घट्दा रगतको तापमान बढ्न गई टाउको भारी हुनु
– नाडीको गति बढ्नु
– रगतको गति पनि तिब्र हुनु
– श्वासप्रश्वासको गति असामान्य हुँदै जानु
– हात, खुट्टा र तालुमा जलन बढ्नु
– आँखामा जलन बढ्नु
– अचानक बेहोस हुनु
बच्ने उपाय
– पटक पटक पानी पिउने
– खाली पेट नबस्ने
– प्याजको रस खाने
– बाहिर निस्कदा टाउको, कान र गर्दन ढाक्ने तौलिया ओड्ने
– मध्यान्हको चर्को गर्मीमा घर बाहिर ननिस्कने
– पच्ने खानेकुरा मात्र खाने
– नरम, मुलायम सूतीको कपडा लगाउने
– चिसो फल, खानेकुरा सेवन गर्ने
लू लागे के गर्ने ?
– लू लागेको थाहा हुनासाथ तत्काल अस्पताल जाने
– चिकित्सककोमा पुग्नु अघि केही घरमा पनि केही प्राथमिक उपचार गर्न सकिन्छ ।
क) बिरामीलाई खुला र चिसो हावामा आराम गराउने
ख) बिरामीको शरीरमा चिस्याउन चिसो पानी वा बर्फले बारम्बार पट्टी गर्ने
ग) बिरामीलाई तुरुन्तै प्याजको रसमा मह मिसाएर पिउन दिने
घ) बर्फ पानी पिउन नदिने बरु कागती पानी पिउन दिने
ङ) भिजाएको धनिया पिसेर छान्ने र उक्त घोलमा चिनि मिसाएर पिउने
च) खरबुजा, कांक्रा जस्ता पानीको मात्रा बढी भएको फलफूल, सब्जी सेवन गर्ने
छ) पानीमा ग्लोकोज मिसाएर पिउने वा कागतीको सर्बत पिउने