Date : 2023-05-09


तीन इन्स्योरेन्स कम्पनीले हिमालयन लाइफको नामबाट एकिकृत कारोबार शुरु गर्दै

यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भइ आज बैशाख २६ गतेदेखि एकिकृत कारोबार शुरु गर्दैछन् । यी तीन कम्पनीले एक आपसमा गाभिन बीमा प्राधिकरणबाट बैशाख १३ गते अन्तिम स्वीकृति पाएका थिए । सोही अनुरुप यी कम्पनीले एकिकृत कारोबारका लागि मिति तय गरेका हुन् । मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार गर्न लागेका हुन् । यी तीन कम्पनी बराबरी हैसियतमा गाभिन लागेका हुन् ।

यूनियन र प्राइमको बैशाख ६ गते सम्पन्न विशेष साधारणसभाबाट र गुराँस लाइफको पनि बैशाख ६ गते नै सम्पन्न वार्षिक साधारण सभाबाट यी तिनै कम्पनीले मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए । नेपाल धितोपत्र बोर्डले यी तिन कम्पनीलाई बैशाख १९ तथा कम्पनी रजिष्ट्रार कार्यालयले बैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।