Date : 2023-07-16
श्रम मन्त्रालय र विभाग चुपचाप ?
वैदेशिक रोजगार ऐन तथा नियमावलीमा भएको व्यवस्थाअनुसार श्रम स्वीकृति प्रदान गरेका कामदारलाई वैदेशिक रोजगारमा जानबाट अध्यागमन कार्यालयले बिना कारण रोक्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभाग मौन देखिएका छन् ।
सानोतिनो अनुगमन वा छापा मारेर दुई–चार वटा राहदानी बरामद गरेको विषयमा हतार–हतार विज्ञप्ति जारी गरेर फुर्तीफार्ती गर्ने विभागका कर्मचारी आफूले श्रम स्वीकृति दिएका व्यक्तिलाई अध्यागमन कार्यालयले निरन्तररूपमा बिना कारण फर्काउँदा हालसम्म सार्वजनिकरूपमा कुनै प्रतिवाद गरेको देखिएको छैन ।
यहाँसम्मकी सरकारी अधिकारीहरुको जमघटका बेलासमेत श्रम मन्त्रालय, विभाग र कार्यालयका अधिकारीहरु कसैले कुरा निकाल्लान् कि भनेर टाढिने गरेका छन् । यसले आफ्नो कार्य सम्पादनमाथि अध्यागमन अधिकारीहरूले लगाउने आरोप स्वीकार गरेको जस्तो देखिएको वैदेशिक रोजगार विभागका एक पूर्वमहानिर्देशकले मध्यान्हसंग टिप्पणी गरे ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेन्द्र भण्डारीले मन्त्रालयका सचिव र विभागका महानिर्देशकले गृह मन्त्रालयमा उपप्रधान एवम् गृहमन्त्री नारायणीकाजी श्रेष्ठको उपस्थितिमा भएको छलफलमा श्रम स्वीकृति विधिसम्मत रहेको अडान लिएको बताए । तर अध्यागमनले कामदार रोकेको घटनाले अन्तर्राष्ट्रिय रूप लिन लाग्दासमेत मन्त्रालय र विभागले आफ्नो मातहत भएको काम विधिसम्मत भएको सार्वजनिक जिकिर गर्न नसक्दा आफूहरु अविभावकविहीनजस्तो बनेको व्यवसायीहरुले बताएका छन् ।
रेमिट्यान्स आप्रवाह र त्यसले देशको अर्थतन्त्रमा पुर्याएको योगदान हेर्ने हो भने यतिबेला श्रम मन्त्रालयको हैसियत अर्थ मन्त्रालयको हाराहारीमा हुनुपर्ने हो । तर बजेट विनियोजन वा अन्य कारणले श्रम मन्त्रालय हेपिएको अवस्थामा रहेको छ । केही दिनअघि सरूवा भएका श्रम मन्त्रालयका तत्कालीन सचिव एकनारायण अर्यालले आफ्नो बिदाइ कार्यक्रममा मन्त्रालयको अवस्था स्वतन्त्र हैसियतको नभएको अनुभव सुनाएका थिए ।
कहिले परराष्ट्र मन्त्रालय र कहिले अन्य मन्त्रालयबाट हेपिने श्रम मन्त्रालय र विभाग अहिले गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले लगाएको दोष र अपजस व्यहोर्नुपर्ने अवस्थामा छ । विभागका ती पूर्वमहानिर्देशक भन्छन्, ‘देशमा गणतन्त्र आएको दुई दशक हुन लाग्यो, तर श्रम मन्त्रालय आन्तरिक उपनिवेशको थिचोमिचो सहेर काम गर्न बाध्य छ ।’