Date : 2023-05-24


शंकाको घेरामा अख्तियार प्रमुख

दिवाकर अधिकारी/मध्यान्ह

 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान अयाोगका प्रमुख प्रेम कुमार राई पनि नक्कली भुटानी शरणार्थी प्रकरणको शंकाको घेरामा परेका छन् । कारण – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकारका रुपमा पक्राउ परेका पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईले अख्तियार दुरुपयोग अनुसन्धान अयाोगका प्रमुख प्रेम कुमार राईको नाम लिएका छन् । 

 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान भन्दै करोडौं असुलउपर गर्ने गिरोहमा संलग्न रहेको भन्दै उनको नाम लिइएपछि उनी शंकाको घेरामा परेका हुन् ।

 

इन्द्रजितले बयानका क्रममा अख्तियार प्रमुख राईको नाम लिएका हुन् । सोही प्रकरण संलग्नता भएको आरोपमा तत्कालीन उर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध अनुसन्धान प्रतिवेदन तयार भएर सरकारी वकिलको कार्यालय पुगेको छ । 

 

गिरोहका नाइके मानिएका केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई १२ चैतमै प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो । केशव दुलाल २०६६ सालमा कांग्रेस नेतृ सुजाता कोइराला उपप्रधान तथा परराष्ट्रमन्त्री बन्दा उनका स्वकीय सचिव थिए ।

 

उक्त गिरोहले आठ सय भन्दा धेरै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं रकम उठाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । यस प्रकरण अनुसन्धानका क्रममा अन्य सरकारी कर्मचारी र नेताहरुमाथि समेत अनुसन्धान हुन सक्ने गरी प्रहरीले प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । त्यस आधारमा दोस्रो चरणमा पनि अनुसन्धान भए बयानमा नाम लिएकाहरुसँग प्रहरीले परामर्श लिने वा सोधपुछ गर्न सक्छ । 

 

आफुलाई पनि नक्कली भुटानी प्रकरणमा जोड्ने गरी बयान दिइएपछि अख्तियार प्रमुख राईले यसअघि नै कानुन व्यावसायीहरुसँग समेत परामर्श लिएको बताइन्छ । कतिपयले निरन्तर प्रश्न उठाउन थालेपछि राई पनि निरन्तर कानुनी परामर्शमा जुटेका छन् । 

 

राई २०७४ चैत २६ गतेदेखि २०७६ माघ २० गतेसम्म गृह मन्त्रालयका सचिव थिए । नेपाली नागरिकलाई सोही बेलादेखि नक्कली भुटानी शरणार्थी बनाउन थालिएको विषय चर्चामा आएपछि राई झस्किएका हुन् । सोही कारण उनले कानुन व्यवसायीसँग परामर्श लिन थालेको स्रोतको दाबी छ ।

 

उनका समकालीन उच्च सरकारी अधिकारीहरूका अनुसार राई आफैँमा पनि विवादित पृष्ठभूमिका हुन् । उनी अख्तियार प्रमुख हुनुअगाडि अख्तियारले नेपाल आयल निगमको पेट्रोलियम भण्डारणका निम्ति जग्गा किन्दा भएको घोटाला प्रकरणको फाइल बन्द गरेको थियो । 

 

राई तत्कालीन प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र मानिन्थे । अख्तियारको प्रमुखमा राईको नियुक्ति हुने निधो भएपछि अघिल्ला प्रमुख आयुक्त नवीन घिमिरेले घोटालाका फाइल बन्द गर्ने निर्णय गराएको आरोप समेत लाग्ने गरेको छ ।

 

०७२ वैशाखको भूकम्पलगत्तै भारतले गरेको नाकाबन्दीका कारण देशभर रहेको पेट्रोलियम भण्डारण क्षमताले एक सातासम्म पनि नथेगेपछि आयल निगमले सातवटा प्रदेशमा जग्गा खरिदको योजना बनाएको थियो । योजनालाई आर्थिक वर्ष ०७३/७४ को बजेटमार्फत सरकारले समेत सम्बोधन गरेको थियो । जग्गा प्राप्ति ऐनअनुसार खरिद गर्नुपर्नेमा टेन्डरमार्फत सूचना निकालेर खरिद गर्दा घोटाला भएको बताइन्छ । 

 

यो विषयमा संघीय संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हितसम्बन्धी समितिले पनि अध्ययन गरेको थियो । आयल निगमको जग्गा खरिदमा चार गुणाभन्दा बढी मूल्य तिरेको ठहर गरेको थियो । त्यसअनुसार १ अर्ब ९५ करोडमा किनिएको जग्गामा १ अर्ब ४६ करोडभन्दा बढी रकम देखाएर अनियमितता गरेको समितिको ठहर थियो । 

 

केशव दुलालको बयान : केपी ओलीका प्रमुख स्वकीय सचिवलाई एक करोड दिएँ 

 

नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका केशव दुलालको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिवलाई प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर १ करोड दिएको बयान दिएका छन् । 

 

स्रोतले मध्यान्हलाई उपलब्ध गराएको आरोपीहरुको बयानमा दुलालले भनेका छन्, ‘तत्कालिन गृहसचिव प्रेमकुमार राईले डा.इन्द्रजित राईमार्फत गृह मन्त्रालयको सचिवको कार्यकक्षमा बोलाई मिति २०७६ साल असार महिनामा ३ करोड नगदै बुझी लिएको, तत्कालिन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लिला जिसीमार्फत मलाई बोलाई २०७६ साल असोजमा १ करोड नगदै बुझी लिएको ।’ 

 

 

इन्द्रजित, सानु भण्डारी र दुलालबीच लेनदेन विवाद 

 

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने प्रयास गर्दा लेनदेन विवादमा गृह मन्त्रालयभित्रै झगडा परेको बयान पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझीले दिएका छन् । 

 

करणमा संलग्नहरुबीचको लेनदेनका क्रममा गृह मन्त्रालयभित्रै विवाद भएको दाबी गरेको बयान सरकारी वकिलको कार्यालय पुगेको छ । 

 

‘कामविशेषले गृह मन्त्रालय गएको बखत स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजित राईको कार्यकक्षमा छलफल हुँदा ठूलो स्वरमा आवाज आएको हुँदा म पनि कार्यकक्षमा छिरेँ, १६ पुस २०७७ को घटना भन्दै उनले भनेका छन्, ‘त्यहाँ जाँदा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेन सम्बन्धी विवाद भएको सुनेको हुँ ।’ 

 

उनले केवल पौने घण्टामा घुमेर आउन सकिन्छ भनेकाले आफू केशव दुलाल र सानु भण्डारीसँग हेलिकप्टरमा गोसाईंकुण्ड घुम्न गएको उल्लेख गरेका छन् ।

 

१६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

 

जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार म्याद थपका लागि अदालतमा पेश गरिएकोमा अदालतले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

 

थपिएको दुई दिनको म्यादभित्रमा अब जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नुपर्छ । शरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १६ जनालाई पक्राउ गरेको छ ।

 

उक्त घटनामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई विभिन्न मितिमा पक्राउ गरी हिरासतमा राखेको छ । पक्राउ पर्नेमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीपसहित केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी छन् । 

 

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहित १७ जना फरार रहेको भन्दै ३३ जनाविरुद्ध ठगी, संगठित अपराध र राज्यविरूद्धको अपराधमा मुद्दा चलाउनु पर्ने रायसहित सोमबार प्रहरीले आफ्नो प्रतिवेदन सरकारी वकिललाई बुझाइसकेको छ । उक्त घटनामा एक सय १३ जनाले साढे २७ करोड ठगी भएको भनी २२ वटा जाहेरी प्रहरीमा दर्ता गरेका थिए ।