Date : 2023-07-28
स्वयंसेवी रक्तदाताहरूले दानमा लिएको रगतको बिक्री
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवाले ७३ जिल्लाका १२० स्थानबाट रक्त सञ्चार सेवा दिँदै आइरहेको छ । मनाङ, मुस्ताङ, डोल्पा र रुकुम (पश्चिम) भने यो सेवाबाट हालसम्म वञ्चित छन् । २०७९ साउन १२ देखि २०८० साउन ११ सम्म जम्मा २,८१,३१६ युनिट रगत संकलन गरी ३,९१,८५३ युनिट वितरण गरिएको तथ्यांक सार्वजनिक भएको छ । बाँकी हो निजी रक्त सञ्चार सेवाको । सरकारले दुवैको लेखाजोखा राखेको जानकारी हालसम्म पाइएको छैन । यसरी वर्षभरिको यकिन लगतसमेत प्रस्तुत गर्न असमर्थ छ सम्बन्धित निकाय ।
गुणस्तर परीक्षणपश्चात् रगत र रगतबाट तयार पारिएका रक्त–तत्त्वहरूको उपलब्धता एकद्वार प्रणाली अन्तर्गत गर्नुपर्नेमा त्यसो नगरी यस क्षेत्रलाई लगामबिनाको घोडाझैं बनाइएको छ । अहिलेसम्म आउँदा सिन्के प्रविधिदेखि क्लिया प्रविधिसम्मबाट रगतको परीक्षण गरिएको छ । प्रविधिको नाममा फेरि अर्को व्यापार भइरहेको छ । राज्यले निःशुल्क वितरण गर्न लगाउनुको साटो उल्टै राज्यद्वारा शुल्क निर्धारण गरेर स्वयंसेवी रक्तदाताहरूले दानमा दिएको रगत र त्यस बाट तयार पारिएका रक्त–तत्त्वहरू बिक्री–वितरण गर्न आधिकारिकता प्रदान गरेको छ । यो गैरजिम्मेवारी र अकर्मण्यताको पराकाष्ठा हो ।
यस्तो सरकारी रवैयाले गर्दा निजी क्षेत्रको रक्त सञ्चार सेवालाई पीडितसँग चर्को रकम असुली गर्न सहज भएको छ । ४९५ रुपैयाँमा एक पाउन्ड रगत उपलब्ध गराउँदै आएको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवाले पनि मौकाको फाइदा उठाई ६५० र ८०० रुपैयाँ (क्रसम्याचसहित) मा बिक्री गरिरहेको छ । यो बेथितिको जिम्मेवारी कसले लिने ? अर्कातिर, स्वयंसेवी रक्तदाताले दानमा दिएको रगत लिन शोधभर्नाको माग गर्ने निजी रक्त सञ्चार सेवा पनि कमको छैन । यो आफैंमा अपराध हो ।
निजी क्षेत्रद्वारा सञ्चालित रक्त सञ्चार सेवा केवल सुगम र सहरी क्षेत्रवरिपरि सीमित छ । रक्त सञ्चार सेवाको व्यवस्थापन राज्य आफैंले गर्नुपर्ने हो, देशभरि पुर्याउनुपर्ने हो तर अरूको जिम्मामा छोडेर दायित्वबाट पन्छिएको छ । यो शोभनीय पक्कै होइन ।