![](https://rojgariapp.com//storage/223/12.jpg)
By : Rojgari App
सेवा शुल्क परिमार्जन बिना कुनै सुधार नहुने निष्कर्ष
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा रहेका बेथितिहरूको जड अव्यवहारिक सेवा शुल्क रहेको भन्दै तत्कालै यसमा परिमार्जन हुनुपर्ने माग गरेको छ । आइतबार राजधानीमा पत्रकार अन्तरक्रियामार्फत सय दिनको कार्यप्रगति विवरण सार्वजनिक गरेको संघ नेतृत्वले यस बीचमा सुधारका धेरै प्रयास गरिएको र सबै समस्याको जडका रूपमा अव्यवहारिक सेवा शुल्क देखिएको भन्दै सेवा शुल्कमा परिमार्जन नगरेसम्म वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न नसकिने बताएको छ ।
कार्यक्रममा संघका अध्यक्ष राजेन्द्र भण्डारीले नेपालका छिमेकी दक्षिण एशियाली मुलुकका वैदेशिक रोजगार व्यवसायीसरह नेपालका व्यवसायीहरूले पनि कामदारले पाउने एक महिनाको तलब बराबरको रकम सेवा शुल्क वापत लिने व्यवस्था भएपछि यस क्षेत्रमा रहेका अन्य समस्याहरूको समाधानको बाटो खुल्ने दाबी गरे । उनले भने, ‘सेवा शुल्क परिमार्जन भए वैदेशिक रोजगारमा जाने कामदारको लागतको सुरक्षा हुनुका साथै सरकारले व्यवसायीहरूबाट कर लिन पाउने भएकाले सेवा शुल्कमा परिमार्जन जरुरी रहेको संघको निष्कर्ष छ ।’
व्यवसायीको असहमतिका बाबजुद श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७२ सालदेखि फ्रि भिसा र फ्रि टिकटको व्यवस्था कार्यान्वयन गरिरहेको छ । अध्यक्ष भण्डारीले व्यवसायी फ्रि भिसा र फ्रि टिकट निर्णयको विरोधी नभएको भन्दै एक महिनाको तलब बराबार शुल्क लिने व्यवस्था भएपछि नेपाली कामदार युरोप जाने क्रममा वृद्धि भई खाडी र मलेसिया जाने वर्तमान वैदेशिक रोजगारको ट्रेण्ड पनि परिवर्तन हुने जिकिर गरे । त्यस्तै अस्वभाविकरूपमा शुल्क उठाएको भन्ने हाल सुन्ने गरिएको जनगुनासोको पनि अन्त्य हुने उनले दावी गरे ।