Date : 2023-09-28


साउदीमा म्यानपावर सञ्चालक नै बेपत्ता :

साउदी अरेबियास्थित नेपाली दूतावासले कामदारको समस्या समाधानको छलफलका क्रममा बेपत्ता बनाइएका वैदेशिक रोजगार व्यवसायी  वीरेन्द्र साह तेलीको स्थानीय प्रहरीको सहयोगमा खोजी भइरहेको बताएको छ ।

 

फ्रेन्डसिप इन्टरनेशनल इम्प्लोइमेन्ट प्रा.लि.का सञ्चालक तेली साउदी अरेबियाको रियादस्थित फरिस अल रीम कम्पनीमा विगत केही समयदेखि समस्यामा रहेका नेपाली कामदारको समस्या समाधानका लागि गत मंगलबार राति यूएईबाट साउदी अरेबिया पुगेका थिए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साउदी मामिला संयोजक बैकुण्ठ पौडेल ‘बैभव’ले व्यवसायी तेली समस्यामा रहेका कामदार रहेको कम्पनीमा पुगेलगत्तै कम्पनीसँग सम्बन्धित इस्लाम नामको व्यक्ति र उसको भाइसँग नेपाली कामदारलाई  काम र तलब नदिएकोलगायतका विषयमा छलफल हुँदा उनीहरूले नेपाली कामदारकै अगाडि व्यवसायी तेलीलाई घाइते हुने गरी पिटेर बेपत्ता बनाएको जानकारी आएको बताए । व्यवसायी तेलीको झोला आफूहरूसँग रहेको उक्त कम्पनीमा कार्यरत नेपाली कामदारहरूले एक भिडियोमार्फत बताएका छन् ।

 

साउदी अरेबियामा कम्पनी मालिकले कामदारलाई समय–समयमा कुटपिट तथा अभद्र व्यवहार गरेका समाचार आएपनि व्यवसायीलाई नै रोजगारदाताका तर्फबाट कुटपिट र बेपत्ता बनाएको पहिलो घटना मानिएको छ ।

 

संयोजक पौडेलले घटना मंगलबार रातिको भएका कारण बुधबार बिहान मात्रै नेपाली दूतावासलाई जानकारी गराएको त्यसपछि नेपाली दूतावासले साउदी प्रहरीलाई खबर गरी रियाद प्रहरीको अनुसन्धान टोली र दूतावासका प्रतिनिधि घटनास्थल पुगेको जानकारी आएको बताए । 

 

घटनाका प्रत्यक्षदर्शी नेपाली कामदारहरूको वयानका अधारमा खोजी गर्दा पनि बुधबार साँझसम्म कुनै पत्तो नलागेकाले अनुसन्धान टोली घटनास्थलबाट फर्किएको भन्दै साउदी संयोजक पौडेलले नेपाली दूतावासले प्रत्यक्षदर्शी नेपाली कामदारले दिएको विवरणको आधारमा इस्लाम र उसको भाइविरूद्ध प्रमाणसहित रियाद प्रहरीमा किटानी जाहेरी दर्ता गराएको पनि दूतावासका तर्फबाट जानकारी पाएको बताए । 

 

संघले अनुसन्धान अगाडि बढाउन र व्यवसायी तेलीलाई मुक्त गराउन पटक–पटक आग्रह गरेपछि रियाद प्रहरीको अनुसन्धान टोली र दूतावासका प्रतिनिधि दोस्रो पटक घटनास्थल पुगेर  बुझ्दा व्यवसायी तेलीलाई नियन्त्रणमा राख्ने र डिमाण्ड दिने व्यक्ति इस्लाम र अलि भन्ने उसको भाइ बंगलादेशी नागरिक रहेको पुष्टि भएपछि साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले बंगलादेशी राजदूतलाई तीन पटक भेटेर घटनामा संलग्न व्यक्ति सम्पर्कामा आएमा जानकारी दिन र घटनाको अनुसन्धानमा सहयोग गर्न अपिल गरेका थिए ।

 

नेपाली दूतावाले साउदी अरेबियाको परराष्ट्र मन्त्रालयलाई पत्राचार गरी घटनाको छिटो छानबिन गरी नेपाली नागरिकको ज्यान जोगाइदिन आग्रह गरेको काउन्सिलर श्रम देवेन्द्र कार्कीले मध्यान्हलाई जानकारी दिए । काउन्सिलर श्रम कार्कीले रियाद प्रहरीले घटनाको धेरै नजिक पुगेको र चाँडै सबै विवरण सार्वजनिक गर्ने बताएकाले पर्खिरहेको बताए ।

 

संघको साउदी संयोजक पौडेलले समस्यामा रहेका प्रायः कामदारहरुलाई कम्पनीले नै एक्जिट पर्मिट दिएर नेपाल पठाइसकेको र थप केहीलाई पठाउन लागेको समेत जानकारीमा आएको बताए । उनले व्यवसायी तेलीको ज्यान जोगाउन संघले आग्रह गरेअनुसार नेपाली दूतावासले निकै मिहेनत गरी काम गरिरहेकाले समस्याको समाधान छिट्टै  हुनेमा आशावादी रहेकोसमेत बताए ।