Date : 2023-08-22


साउदीमा जरिवानामा परेका नेपाली कामदारको विवरण संकलन शुरु

साउदी अरेबियास्थित नेपाली दूतावासले वैदेशिक रोजगारीको सिलसिलमा साउदी अरबमा रहँदा जरिवानामा परेका नेपाली कामदारको विवरण संकलन गर्न शुरु गरेको छ । विभिन्न कारणले कम्पनी वा कफिलले जरिवाना वा फाइन लगाइ समस्यामा पारेका कामदारहरुले दूतावासको वेबसाइटमा आफ्नो विवरण अपडेट गर्न सक्ने भन्दै विवरण पठाउन ढिला नगर्न आग्रह गरेको छ । दूतावासले जरीवाना वा फाइनमा परेका कामदारको विवरण संकलन गरेपछि सामूहिकरुपमा साउदी सरकारसँग नेपाली कामदारहरुको जरिवाना वा फाइन मिनाहका लागि आग्रह गर्ने बताएको छ । साउदी अरबमा न्यूनतम तलबमा काम गर्ने अधिकांश नेपाली सवारी चालक ट्राफिक नियमसम्बन्धी जनचेतनाको अभावमा तलबले धान्ने भन्दा धेरै जरिवानामा पर्ने गरेका छन् भने कतिपय चोरीजस्ता सामाजिक अपराधमा पनि चर्काे जरिवानामा पर्ने गरेका छन् । केही समयअघि नेपाली नागरिक कृष्णकुमार तामङ चोरीको अभियोगमा ५८ हजार साउदी रियाल जरिवानामा परेका थिए । नेपाल दूतावासको पहलमा साउदी सरकारले उनको जरिवाना रकम मिनाहा गरिदिएपछि उनी घर फर्किन पाएका थिए । साउदी सरकारले जरिवाना मिनाहा गरिदिएपछि पनि कतिपय नेपाली कामदार जहाज टिकटको अभावमा स्वदेश फर्किन समस्यामा पर्ने गरेका छन् । त्यस्ता कामदारलाई दूतावासले एकतर्फी ट्राभल डकुमेन्ट बनाइदिएपछि नेपालीका परोपकारी संघसंस्थाको पहलमा हवाई टिकटको व्यवस्था गर्ने गरिएको छ । दूतावासले विवरण पेश गर्न छुट भएकाहरुले जरिवाना मिनाहा नपाउने भन्दै रियादस्थित नेपाली दूतावास तथा नेपाली महावाणिज्यदूतावास जेद्दामा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।