Date : 2023-05-10


साउदी दूतावास नै भीएफएस प्रणालीको तयारीमा

नेपालस्थित साउदी अरेबियाको दूतावासले भीएफएस प्रणालीबाट भिसा प्रदान गरेर सेवा प्रवाहलाई सहजीकरण गर्ने बताएको छ । 

 

नेपालका लागि साउदी राजदूत साद अबुहैमेद र नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधिमण्डलबीच मंगलबार दूतावासमा भएको छलफलमा राजदूत अबुहैमेदले साउदी सरकारले पनि निकट भविष्यमा भीएफएस प्रणालीबाट भिसा प्रोसेसिङ गर्ने गरी तयारी गरेको आशय व्यक्त गरेको छलफलमा सहभागी संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए । 

 

छलफलमा संघका अध्यक्ष राजेन्द्र भण्डारी, महासचिव भुर्तेल र कार्यसमिति सदस्य तथा संघको साउदी अरब मामिला प्रमुख वैकुन्ठ पौडेल (वैभव) सहभागी थिए ।

 

हाल साउदी अरबमा कामदार पठाउन भिसा प्राप्त गर्ने विषयमा भएका कठिनाइ तथा साउदी दूतावासले दिनुपर्ने सेवा सुविधाका विषयमा दूतावास गम्भीर भएको संघले बताएको छ । छलफलपछि दूतावासले ब्लक भएको इन्जाजित र दूतावासद्वारा खोसिएका साउदी आइडी क्रमशः प्रक्रियागतरूपमा खोल्ने सहमति राजदूत अबुहैमेदले जनाएको पनि संघले जनाएको छ । 

 

संघले इन्जाजित ब्लक भएका र दूतावासद्वारा आइडी खोसिएका व्यवसायीले  संस्थाको आफ्नो पालो अनुसार दूतावासले माग गरेका आवश्यक कागजातसहित दूतावासको कन्सुलर शाखामा सम्पर्क गर्नुपर्ने बताएको छ ।

 

हालसम्म साउदी दूतावासको आइडी नभएका व्यवसायीहरुको हकमा नयाँ आइडी बनाउनका निम्ति साउदीका रोजगारदाता कम्पनीबाट प्राप्त भएका मागपत्रको सक्काल प्रतिसहित दूतावासको कन्सुलर शाखाबाट माग भएबमोजिम आवश्यक कागजातसहित सम्पर्क गर्न पनि संघले जनाएको छ । 

 

भीएफएस प्रणालीबाट भिसा प्रदान गर्ने दूतावासको तयारीलाई धेरै व्यवसायीहरूले सिण्डिकेटको संज्ञा दिएका छन् । मंगलबारको छलफलमा राजदूत अबुहैमेदसँग व्यवसायीको चिन्ता र सरोकारबारे पर्याप्त चासो र जिज्ञासा राखिएको भन्दै महासचिव भुर्तेलले भीएफएस प्रणालीमा कुनैपनि नेपाली व्यवसायी र नेपाली कर्मचारीको संलग्नता नरहने र पूर्णरूपमा साउदी सरकारको नियन्त्रणमा रहने बताएको मध्यान्हलाई बताए । 

 

भिसा प्रोसेसिङ शुल्कको हकमा नेपालमा रहेका युरोपेली मुलुकका भीएफएस प्रणाली सरह सेवा शुल्क लिने जानकारी दिएको पनि महासचिव भुर्तेलले बताए । भीएफएस प्रणाली लगाएका युरोपेली मुलुकमा भिसा प्रोसेसिङ शुल्क ६ अमेरिकी डलर रहेकाले साउदी अरबको हकमा पनि सोही हाराहारीमा शुल्क लाग्न सक्ने तर ठोस जानकारी नपाएको महासचिव भुर्तेलले बताए ।