Date : 2023-07-04


साउदी कानूनले बर्जित गरेको कुनै काम नगर्न नेपाली समुदायलाई महावाणिज्यदूत पौडेलको आग्रह

साउदी : गैर आवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समन्वय समिति ताबुकको आयोजनामा भलिबल प्रतियोगिता, बृहत् सांस्कृतिक कार्यक्रम तथा श्रमिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गत जुन ३० मा मुस्लिम समुदायको महान पर्व इद अल अधा-२०२३ को अवसरमा एनआरएनए क्षेत्रीय समन्वय समिति ताबुकले पुरुष भलिबल प्रतियोगिता, बृहत् सांस्कृतिक कार्यक्रम र श्रमिक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सम्बोधन गर्दै विशिष्ट अतिथि महावाणिज्यदूतावास जेद्दाका महावाणिज्यदूत भुवन पौडेलले साउदी कानूनले बर्जित गरेको कुनै काम नगर्न नेपाली समुदायलाई आग्रह गरे । कतिपय कार्य नेपालमा सामन्य रहेपनि यहाँ गैरकानूनी हुने हुँदा त्यस्ता कार्यहरु नगर्नु उनले अनुरोध गरेका थिए । श्रमिक अन्तरक्रिया कार्यक्रमअन्तर्गत महावाणिज्यदूत पौडेलले श्रमिकहरुको विभिन्न गुनासोहरु सुनेर दूतावासको तर्फबाट समस्याको समाधनका लागि सक्दो सहयोग रहने बताए । सो क्रममा विभिन्न कम्पनीमा कार्यरत श्रमिकहरुले आ-आफनो गुनासोसमेत राखेका थिए । क्षेत्रीय समन्वय समिति ताबुकका अध्यक्ष नरबहादुर खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि महावाणिज्यदूतावास जेद्दाका महावाणिज्यदूत पौडेल, प्रमुख अतिथिद्वय आरसीसी ताबुकका संरक्षक तथा सल्लाहकार भक्तबहादुर हमाल र आरसीसी जेद्दाका अध्यक्ष डिपि अर्याल रहेका थिए । कार्यक्रमको अथितिहरुमा आरसीसी जेद्दाका सहसचिव देवराज अर्याल, आरसीसी जेद्दाका सहकोषाध्यक्ष आनन्द पाण्डे, लक्ष्मण रोकाया, हिमाल रेमिटको प्रतिनिधित्व गर्दै मोहन खनाल, कुमारी रेमिटको प्रतिनिधित्व गर्दै दिपक तामाङ, लुलु सुपरमार्केटको प्रतिनिधित्व गर्दै शक्ति भट्ट र सुलभ रिक्रुमेन्टसको प्रतिनिधित्व गर्दै बुद्धिप्रसाद बास्तोला रहेका थिए । कार्यक्रममा ताबुक र ताबुक आसपासमा रहेकाहरुको पनि उपस्थिति थियो । कार्यक्रमको सञ्चालन आरसीसी ताबुकका उपाध्यक्ष युवराज पोखरेल र प्रवक्ता शक्ति भट्टले गरेका थिए । कार्यक्रममा आमन्त्रित साउदीका लागि नेपाली राजदूत नवराज सुवेदी र का.बा. महावाणिज्यदूत शत्रुधन पोखरेल समय व्यस्तताको कारण भौतिकरुपमा उपस्थित नभएता पनि उनीहरुले पठाएको भिडियो शुभकामना सन्देश उपस्थितहरुलाई प्रोजेक्टरमार्फत देखाइएको थियो । अतिथिको आसनग्रहणपछि कार्यक्रमको औपचारिक उद्घाटन दीप प्रज्वलनबाट गरिएको थियो । त्यसपछि राष्ट्रियगान बजाएर कार्यक्रमलाई विधिवत रूपमा उद्घाटन गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सावित्रा बनले दिएकी थिइन् । कार्यक्रमको प्रायोजकमा गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, साउदी अरबकी वरिष्ठ उपाध्यक्ष रविना अर्याल तथा सहप्रायोजकहरुमा हिमाल रेमिट ताबुक शाखा, कुमारी रेमिट ताबुक शाखा, लुलु सुपरमार्केट ताबुक शाखा, आरसीसी जेद्दा, अल साफी कप्पनीमा कार्यरत साजन तामाङ, रेशम थापा शुशील तामाङ, सनम चौधरी थापा र बिश्नु थापा तथा सुलभ रिक्रुटमेन्ट बसुन्धरा, काठमाडौं रहेका थिए । कार्यक्रममा उपस्थित विशिष्ट अतिथि, प्रमुख अतिथि तथा अतिथिहरुले छोटो मन्तव्य राखेका थिए ।