Date : 2023-08-25


साउन महिनामै २९ हजार बढी वैदेशिक रोजगारमा

साउन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा अघिल्ला वर्षको तुलनामा कमी आएपनि म्यानपावर कम्पनीमार्फत जाने कामदारको संख्या हाराहारीमा रहेकोे छ । गत आर्थिक वर्षको अन्तिम महिना असारमा संस्थागत अर्थात म्यानपावर कम्पनीमार्फत २८ हजार २ सय ३४ जना युवायुवतीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएकोमा साउन महिनामा उक्त संख्या २९ हजार २ सय २४ रहेकोे छ । साउनमा व्यक्तिगत नयाँ ७ हजार ५ सय ६८ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको साउन महिनाको प्रगति प्रतिवेदनअनुसार साउनमा नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५५ हजार ५ सय ७५ रहेको छ । गत आर्थिक वर्षको साउन महिनामा उक्त संख्या ६३ हजार ३९ थियो । गत वर्षदेखि निरन्तररूपमा मलेसियामा धेरै नेपाली गएको भएपनि गत साउनमा यूएईमा धेरै नेपाली रोजगारीका लागि पुगेका छन् । साउनमा यूएईका लागि म्यानपावर कम्पनीमार्फत गएका ६ हजार ७ सय ३३ सहित समग्रमा ११ हजार ८ सय ७८ जनाले श्रम स्वीकृति लिएका छन् । दोस्रो स्थानमा रहेकोे कतारमा म्यानपावरमार्फत २ हजार ८ सय ३२ सहित १० हजार ५ सय ६१ जनाले श्रम स्वीकृति लिएका छन् । साउदी अरेबिया तेस्रो स्थानमा छ । उक्त मुलुकमा म्यानपावर कम्पनीमार्फत ७ हजार ३२ सहित १० हजार ३० जना गएका छन् । चौथो स्थानमा रहेको मलेसियामा म्यानपावर कम्पनीमार्फत ७ हजार ८ सय १४ सहित ९ हजार २ सय ६८ जनाको श्रम स्वीकृति भएको छ । गत वर्ष साउनमा मलेसियाका लागि २४ हजार ४ सय ८४ जनाको श्रम स्वीकृति भएको थियोे । मलेसियामा नयाँ एप्रुभल नखुल्दा नेपाली कामदार जाने क्रम घटेको हो । यस्तै कुवेत पाँचौं स्थानमा छ । साउनमा उक्त मुलुकका लागि म्यानपावर कम्पनीमार्फत ३ हजार १ सय ९४ सहित ३ हजार ७ सय १७ जनाको श्रम स्वीकृति भएको छ । बहराइनका लागि २ सय ५७ सहित म्यानपावर कम्पनीमार्फत ४ सय ७५ जना, जीटुजीका माध्यमबाट जाने दक्षिण कोरियामा २ हजार ४ सय १४ जना गएका छन् । युरोपेली मुलुक क्रोएसियाका लागि म्यानपावरमार्फत २ सय ५१ सहित १ हजार ६ सय ४९, पोल्याण्डका लागि म्यानपावर कम्पनीमार्फत एक जना पनि गएका छैनन् । व्यक्तिगत र पुनः श्रम स्वीकृति गरी उक्त मुलुकमा ४ सय ६२, साइप्रसका लागि म्यानपावरमार्फत ४ सय ३३ सहित ४ सय ७८, माल्टाका लागि ६ सय ७२ गएकोमा म्यानपावर कम्पनीमार्फत १५ जना गएका छन् । रोमानियाका लागि म्यानपावरमार्फत २ सय ८९ जनासहित ४ सय ७३, बेलायतमा व्यक्तिगत र पुनः श्रम स्वीकृतिमार्फत १ सय ७७, रुसका लागि ५३, ओमानका लागि १ सय ६, मकाउका लागि ५८ र जापानका लागि ८ सय २७ जनाका लागि श्रम स्वीकृति भएकोमा म्यानपावरमार्फत ७१ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । गत वर्ष ७ लाख ७१ हजार ३ सय २७ जनाले श्रम स्वीकृति लिएका थिए ।