Date : 2023-07-16


संघद्वारा बदमासी गर्ने अध्यागमनका कर्मचारीमाथि छानबिनको माग

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई बदिनयतले रोक्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरूमाथी छानबिन गरी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । अध्यागमन कार्यालयले असार २४ गते एयर अरेबियाबाट जोर्डन जान लागेका १५ जना, २७ गते सलाम एयरलाइन्सबाट कुवेत जान लागेका १ सय १ जना र कुवेत एयरलाइन्सबाट कुवेत जान लागेका १६ जना श्रम स्वीकृति प्राप्त कामदारलाई रोकेको थियो । कुवेत र जोर्डन जान लागेका श्रम स्वीकृति प्राप्त कामदारहरूलाई अध्यागमन कार्यालयले बिना कारण रोकेको भन्दै आपत्ति जनाएको संघले उक्त कार्य आपत्तिजनक र बदनियतपूर्ण रहेको समेत बताएको छ । अध्यागमन कार्यालयले बिना आधार कामदार रोकेर फर्काएको भन्दै बिहीबार उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई भेटेर ज्ञापनपत्र बुझाएको संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै श्रम स्वीकृति प्राप्त कामदार विमानस्थलमा रोकिनु गम्भीर चिन्ताको विषय भएकाले चुप लागेर नबस्ने बताएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार ऐन र नियमावलीले तोकेको प्रक्रिया पूरा गरेका कामदारहरूलाई बिना कारण विमानस्थलबाट फर्काउने काम निन्दनीय रहेको बताए । अध्यागमन कर्मचारीले उड्न लागेका कामदार रोक्दा हवाई टिकटबापत करोडौंको क्षति भएकाले गल्ती गर्ने कर्मचारीले त्यसको क्षतिपूर्ति तिर्नुपर्ने माग गरे । उनले भने, ‘लामो समयको प्रतीक्षा र ठूलो रकम लगानी गरी दुरदराज ग्रामिण बस्तीबाट आएका कमजोर आर्थिक अवस्थामा रहेका कामदारहरूलाई अनावश्यक दुःख दिएर रोजगारबाट बञ्चित गराउने उद्देश्यबाट अध्यागमनमा रोकिएको छ । कतिपयलाई बोर्डिङ लिएर अध्यागमन चेकजाँचको प्रक्रिया पूरा गरी राहदानीमा डिपार्चर्डको छाप लगाएपछि फर्काएर पासपोर्टमा अपराधीलाई फर्काएजस्तो डिपोर्ट अर्थात् फिर्ताको छाप लगाइएको छ । यसका कारण कामदारमाथि दीर्घकालीन असर हुन्छ, उनीहरूले यसको पनि क्षतिपूर्ति पाउनुपर्छ ।’ अध्यक्ष भण्डारीले वैदेशिक रोजगार विभागले कामदारको मागपत्र, भिसा, उडान निश्चित भएको हवाई टिकट हेरेर अन्तिम श्रम स्वीकृति दिने भएकाले अध्यागमन कार्यालयका कर्मचारीलाई सो विषयमा चेकजाँच गर्ने अधिकार नै नभएको भन्दै अध्यागमन कर्मचारी क्षेत्राधिकार नभएको विषयमा प्रवेश गरेको बताए । उनले भिसा र हवाई टिकटबाहेकका कागजात हेर्ने र कामदारलाई दुर्व्यवहार गरेर उडान अनुमति नदिएको विषयमा गृहमन्त्रीको उपस्थितिमा भएको छलफलमा अध्यागमन कार्यालयका प्रमुख भने जवाफविहीन बनेको पत्रकार सम्मेलनमा बताए । बिना कारण कामदार फर्काएपछि विषयान्तर अर्थात ट्वीस्ट गर्ने घातक प्रवृत्ति देखिएको पनि उनले बताए । अध्यक्ष भण्डारीले अध्यागमनले कामदार फर्काउँदा हवाई टिकटबापत ठूलो आर्थिक क्षति पुगेको र समयमा उड्न नपाउँदा कतिपय कामदारको भिसा समाप्त भएर रोजगार नै गुम्ने अवस्था बनेको जानकारी दिए । उनले भने, ‘महिला कामदारको विषय उठाएर व्यवसायीसँग ब्ल्याकमेल गर्ने र ढोक्सा थाप्ने सेटिङको चाहना देखियो, तर व्यवसायीलाई त्यो स्वीकार्य छैन ।’ संघका महासचिव मेघनाथ भुर्तेलले कुवेत जान लागेका कामदार फर्काउँदा अध्यागमनले दिएका कारण र आधार वास्तविक व्यवहार तथा सत्य तथ्यसँग मेल नखाएको बताए । कामदार फर्काएको विषयमा प्रमाण संकलनको नेतृत्व गरेका महासचिव भुर्तेलले भने, ‘ढिलाइ गरेर विमानस्थलमा आएको भनिएको छ, ११ बजे राति उड्ने कामदार साँझ ६ः५५ बजे नै विमानस्थलमा प्रवेश गरेको छ । विमानस्थलमा पुग्न ढिलाइ भएको भए किन र कसरी बोर्डिङ पास प्राप्त भयो ? आधारहिन जवाफ दिएर कामदार र व्यवसायीलाई मुर्ख बनाउने प्रयास भएको छ ।’ महासचिव भुर्तेलले अध्यागमन कार्यालयले कामदारसँग भिसा डबल रहेको बताएको तर प्रक्रियाले नै एउटा मुलुकको डबल भिसा नहुने भएकाले त्यो पनि गलत भएको बताए । महासचिव भुर्तेलले एउटै लटमा धेरै जना रहेको भनेर अध्यागमनले दिएको जवाफ पनि अमिल्दो रहेको भन्दै अध्यागमन कर्मचारीलाई वैदेशिक रोजगार र विदेशबाट आउने भिसाको प्रकृतिका बारेमा पर्याप्त ज्ञान नभएको देखिएको उल्लेख गरे । पत्रकार सम्मेलनमा संघ पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।