Date : 2023-07-03
संघको ३१औं स्थापना दिवसको अवसरमा, व्यवसायीलाई सित्तैमा कामदार पठाउनुपर्छ भन्न पाइँदैन : मन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले मर्यादित वैदेशिक रोजगारका लागि व्यवसायी प्रतिबद्व हुनुपर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१औं स्थापना दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा मन्तव्य राख्दै मन्त्री भण्डारीले उक्त धारणा राखेका हुन् ।
ओमानको राजधानी मस्कटमा आयोजित गैर आवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व क्षेत्रीय परिषद्को तीनदिने सम्मेलनमा भाग लिएर मन्त्री भण्डारी आइतबार मात्रै स्वदेश फर्किका थिए । मन्त्री भण्डारीले उक्त सम्मेलनले ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मूल नारा तय गरेकोे र त्यसमा घनिभूत छलफल भएकाले वैदेशिक रोजगारमा रहेका अनियमितता अन्त्य गर्ने योजनासाथ काम हुनुपर्ने बताए ।मन्त्री भण्डारीले मस्कट घोषणापत्र समेटेर सुधार गर्नुपर्ने बाध्यता रहेकाले मर्यादित वैदेशिक रोजगारका लागि व्यवसायीलाई इमानदार हुन आग्रह गरे । उनले भने, ‘व्यवसायी इमानदार हुनैपर्छ, प्राप्त सुविधाको दुरुपयोग गर्ने छुट व्यवसायीलाई छैन । संसारमा कामको कमी छैन, अस्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छैन । तपाईंहरूले आफ्नो व्यवसाय चलाउँदा गरिबको चुलो ननिभोस् भन्नेमा ध्यान दिनु होला ।’
उनले भने, ‘ओमानमा धेरै विषयमा छलफल भएको छ, कामदारका विषयमा धेरै छलफल भएका छन्, संघलाई शुभकामना दिन नै रातारात आएको छु । प्रधानमन्त्रीले हामीलाई भन्नुभएको छ– मजाक गर्ने समय छैन । परिवर्तनको अनुभूति हुने गरी काम हुनुपर्ने छ । यसमा तपाईंहरूको पनि जिम्मेवारी छ । इथिकल वैदेशिक रोजगारी गर्ने कसम खानुहोस् । इथिकल गरेपछि मातृभूमिको पनि सही मानेमा सेवा हुनेछ ।’
मन्त्री भण्डारीले मुलुकको अर्थतन्त्रको सन्दर्भमा वैदेशिक रोजगार व्यवसायीको महत्वपूर्ण भूमिका रहेकोेमा आफू पूर्णरूपमा जानकार रहेकाले सुधारका लागि मन्त्रालयले कार्यदलका माध्यमबाट काम गरिरहेको बताए । उनले भने, ‘सरकारले दक्षिण कोरिया र इजरायल पठाउँदा रकम उठाउने, तर व्यवसायीलाई सित्तैमा पठाउनुपर्छ भन्न पाइँदैन ।’
मन्त्री भण्डारीले महिला कामदारको श्रम स्वीकृति रोक्नेदेखि फ्रि भिसा फ्रि टिकटको निर्णय र वार्षिक सय जना कामदार अनिवार्य पठाउनुपर्नेलगायतका विगतमा मन्त्रालबाट गरिएका नीतिगत निर्णय र कानूनी व्यवस्थाको कुनै आधार आफूले नदेखेको भन्दै पटक–पटक प्रश्न उठाए । उनले भने, ‘फ्रि भिसा भनियो १० हजार लिने भनियो, ५ हजार वा १५ हजार किन भनिएन, वार्षिक सय जना पठाउनुपर्ने व्यवस्थाको आधार के हो ? सरकारले पठाउने इजरायल र दक्षिण कोरियाका लागि रकम उठाउने, व्यवसायीले पठाउने खाडी र मलेसियामा फ्रिमा पठाउनुपर्ने यो कसरी जायज छ ? १० हजार सनक जस्तो छ, यसको बारेमा सर्वपक्षीय छलफल गरी सबैलाई स्वीकार हुने गरी उपयुुक्त समयमा नयाँ निर्णय लिनुपर्छ ।’
मन्त्री भण्डारीले संख्या सय अनुचित भएकाले परिवर्तनका लागि निर्णय गरेर विधेयक गएको बताउँदै सरकारले सय आवश्यकता छैन भनेर पठाइसकेकाले व्यवसायी त्रसित हुनुनपर्ने बताए ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारमा कामदार पठाउने जिम्मेवारी व्यवसायीको मात्रै भएकोले आफू सधैं व्यवसायीका पक्षमा उभिने पनि बताए । उनले भने, ‘सरकारले वैदेशिक रोजगारमा कामदार पठाउने भए ऐजेन्सी खडा गर्नुपर्छ, सरकार आफैंले कामदार पठाउनु हुँदैन । म ढोंगी कुरामा विश्वास गर्दिनँ । घाँस उखेलेर रकम खर्च गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जन गरिने छ ।’
कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बूले वैदेशिक रोजगारले नेपालीको आयु बढाएको, कुपोषण अन्त्य गरेकोे, गुणस्तरीय शिक्षामा योगदान दिएको जस्ता अनगिन्ती उपलब्धि हासिल गरेकाले व्यवसायीले सकारात्मक उपलब्धिलाई आधार बनाएर रहेका कमीकमजोरी सुधार गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगार क्षेत्र सुधार हुनुपर्नेमा जोड दिए ।
वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दहालले सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार भनिने भएपनि आफू त्यसलाई परिवर्तन गरी मर्यादित, व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारको मान्यतामा काम गर्ने सोचमा रहेकोे बताए । केही व्यवसायीले व्यक्तिगत भिसामा युरोपेली मुलुकमा कामदार पठाउने गरेकोे सूचना आएको भन्दै त्यस्तो प्रवृत्तिलाई कारबाहीको दायरामा ल्याइने बताए । साउन १ गतेदेखि अटोमेसनका आधारमा श्रम स्वीकृति प्रदान गर्ने तयारीमा रहेकोे भन्दै महानिर्देशक दहालले त्यसमा बेइमानीका नियतले काम गरे लाइसेन्स जानेसम्मको कारबाही गरिने चेतावनी दिए । उनले खाडी मुलुकमा घरेलुु कामदारको अवस्था दयनीय देखिएकाले हतारमा निर्णय गर्नु उचित नहुने बताए ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले कामदारको सुरक्षा र चेतना अभिवृद्धिमा ध्यान दिन आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ तथा महासंघ बस्तुगत संघका उपाध्यक्ष हेमराज ढकालले संघले उठाएका मागप्रति महासंघको ऐक्यबद्धता रहेकोे भन्दै माग पूरा गर्न सरकारसँग आग्रह गरे ।
कार्यक्रममा संघका पूर्वअध्यक्षहरू तथा संघलाई आर्थिक सहयोग गर्ने विभिन्न व्यवसायीहरूलाई सम्मान गरिएको थियोे । कार्यक्रममा संघका पूर्वअध्यक्षहरू निर्मल गुरुङ, भरतसिं थापा, ताराप्रसाद भट्टराई, एलपी साँवा लिम्बू, तिलकबहादुर रानाभाट, प्रेमबहादुर कटुवाल, बलबहादुर तामाङ उपस्थित रहेका थिए भने पूर्वअध्यक्षहरु पुष्प लाल महर्जन, प्रेमबहादुर गुरुङ, दानबहादुर तामाङ, दिलप्रसाद पोखरेल, हंसराज वाग्ले, विमलप्रसाद ढकाल तथा रोहन गुरुङ अनुपस्थित थिए । संघका कानूनी सल्लाहकार वरिष्ठ अधिवक्ता शम्भुप्रसाद निरौला र अधिवक्ता देवराज कटुवाललाई पनि संघले सम्मान गरेकोे थियो ।
कार्यक्रममा वैदेशिक रोजगार महाशाखा प्रमुख सहसचिव राजिव पोखरेल, वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलका कार्यालय प्रमुख पार्वती अर्याल, संघका सल्लाहकारहरु रघुनाथ पुरी, पदमराज पौडेल, सुवर्ण श्रेष्ठ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका अध्यक्ष कुमुद खनाल, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावल, समाजवादी वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष अख्तर हुसैन, नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघका अध्यक्ष सिता देवकोटा, वैदेशिक रोजगार व्यवसायी नेवाः समाजका अध्यक्ष किशान प्रधान, वैदेशिक रोजगार धौलाश्री समाजका अध्यक्ष त्रिलोक चन्द विश्वास, नेपाल वैदेशिक रोजगार व्यवसायी तमु धिः का अध्यक्ष तिर्थबहादुर गुरुङ, नेपाल वैदेशिक रोजगार व्यवसायी विश्वकर्मा समाजका अध्यक्ष अमृत विश्वकर्मा, वैदेशिक रोजगार तामाङ व्यवसायी समाजका अध्यक्ष शुक्र पाख्रिनलगायतको उपस्थिति रहेकोे थियोे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका प्रथम उपाध्यक्ष खत्रीले इजाजत नवीकरणसँग जोडिएको संख्या सयले व्यवसायीलाई अत्यन्तै अप्ठ्यारो पारेको बताए । उनले सरकारले म्यानपावर कम्पनीको संख्या घटाउन नवीकरणका लागि सय संख्या राखेपनि अनियन्त्रितरूपमा म्यानपावर कम्पनीको लाइसेन्स बाँडेर आफ्नै नीतिको विपरीत गएको र त्यसले बाध्यकारी श्रम ‘फोर्स लेवर’को अवधारणालाई बढवा दिएकाले सरकारले व्यवसायीलाई जवाफ दिनुपर्ने माग गरे ।
त्यसैगरी नेपाली दूतावासहरूबाट अनिवार्य मागपत्र प्रमाणीकरणको व्यवस्थाले समस्या सिर्जना गरेकोे र त्यसले गैर व्यवसायीले कामदार पठाउने अवस्था सिर्जना भएको भन्दै उनले मागपत्र प्रमाणित समस्या समाधान नभए इराक घटना दोहरिने खतरा रहेकोे बताए । उनले त्यसमा पनि व्यवसायीले सरकारका तर्फबाट जवाफ चाहेको बताए ।
घरेलुु कामदार समस्या बन्द गर्दा झन भयावह भएको भन्दै उनले जुन देशमा रोकियो त्यही देशमा धेरै घरेलुु कामदार गएको अवस्था देखिएकाले वैदेशिक रोजगार व्यवसायी संस्थालाई जिम्मेवार बनाएर नीति निर्माण भए समस्याको समाधान हुने संघको मान्यता रहेकोे उल्लेख गरे ।
संघले सामाजिक उत्तरदायित्व अन्तर्गत संकलित रकम निवर्तमान अध्यक्ष स्व. विष्णुप्रसाद गैरेकी श्रीमती लक्ष्मी गैरे, मार्भलस इम्प्लोइमेन्ट प्रा.लि.का सञ्चालक स्व. रेन्जी राईकी श्रीमती इन्द्र सुदा राई, राजधानी इन्टरनेसनल प्रा.लि.का सञ्चालक स्व. धनबहादुर खड्काकी श्रीमती धनसरा देवी खड्का, प्राइम एच.आर प्रा.लि.का सञ्चालक स्व. टलबहादुर पौडेलकी श्रीमती तारा तामाङ र फोर स्टार ओभरसिज प्रा.लि.का सञ्चालक स्व. सिताराम विष्टकी श्रीमती दिलमाया श्रेष्ठलाई जनही दुई लाख रूपैयाँ प्रदान गरेकोे थियो ।
कार्यक्रम सफल बनाउन आर्थिक सहयोग गर्ने सबैलाई कदर पत्र प्रदान गरिएको थियोे । कार्यक्रममा संघका संस्थापक अध्यक्ष स्व. महेन्द्र सेरचन, पूर्वअध्यक्ष स्व. सोमलाल बटाजु, निवर्तमान अध्यक्ष स्व. विष्णुप्रसाद गैरे तथा विभिन्न समयमा मृत्यु भएका व्यवसायीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियोे । संघका अध्यक्ष राजेन्द्र भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव मेघनाथ भुर्तेलले गरेका थिए ।
३ सय ४९ जनाद्वारा रक्तदान
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्नो ३१औं स्थापना दिवसका अवसरमा आयोजना गरेकोे रक्तदान कार्यक्रममा ३ सय ४९ जनाले रक्तदान गरेको संयोजक सोमबहादुर लामाले जानकारी दिए । आइतबार बिहान ८ बजेदेखि शुरु भएको रक्तदान कार्यक्रम दिउँसोसम्म चलेको थियो ।