Date : 2023-05-03


सुडानबाट फर्किए नेपाली, ८ जना आज काठमाडौं पुग्ने

दुइटा सुरक्षा निकायबीच लडाइँ भइरहेको अफ्रिकी मुलुक सुडानमा रहेका १९ जना नेपाली त्यहाँबाट फर्किएका छन्।

परराष्ट्र मन्त्रालयले इजिप्टको कायरोस्थित नेपाली दूतावासमार्फत् सुडानमा रहेका नेपालीहरूसँग सम्पर्क गरेको थियो। दूतावासको सम्पर्कमा रहेका ३१ जनामध्ये १९ जनालाई साउदी सरकारको सहयोग पानीजहाजबाट जेद्दा सहरमा ल्याइएको छ।

जेद्दा आइपुगेकामध्ये  ६ जना नेपाली युएईको रोजगारदाता कम्पनीमै बस्न तयार भएका छन्।

नेपाल फर्कन चाहेकामध्ये ८ जना बुधबार साँझ काठमाडौं आइपुग्दै छन् भने ५ जनालाई भोलि जजिरा एयरवेजको उडानबाट नेपाल ल्याउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार नेपाली राजदूतावास कायरोसँग सम्पर्कमा रहेका बाँकी एघार जनामध्ये छ जनालाई पनि पोर्ट सुडानबाट जेद्दा हुँदै उद्धार गर्ने प्रयास जारी छ । बाँकी तीन जना रोजगारदाता कम्पनीको प्रबन्धमा सुरक्षित रूपमा पोर्ट सुडानको होटलमा रहेका र अरू  दुई (२) जनालाई रोजगारदाता कम्पनीले इजिप्टको सीमानास्थित सुरक्षित स्थानमा राखेको छ।




के भइरहेको छ सुडानमा?

उत्तरपूर्वी अफ्रिकी मुलुक सुडानमा गत झन्डै तीन सातादेखि दुई सैनिक समूहबीच भइरहेको छ।  लडाइँमा कम्तीमा सयौं मानिस मारिएका छन्, हजारौं घाइते भएका छन् भने लाखौं विस्थापित भएका छन्।

सुडानका सैनिक शासक अब्देल फताह अल-बुरहान र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) का कमाण्डर मोहम्मद हामडान डागालोले एक-अर्काका क्याम्पहरूमाथि आक्रमण गरिरहेका छन्।


अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रपति भवन, सैनिक मुख्यालयजस्ता महत्वपूर्ण ठाउँ आफ्नो नियन्त्रणमा राख्न अहिले दुबै पक्षले संघर्ष गरिरहेका छन्। राजधानी बाहिरका सहरहरूमा पनि उनीहरूले एक-अर्काका क्याम्पमा आक्रमण गरेका छन्।

दुई सैनिक समूहले एक-अर्कालाई आक्रमण गर्न थालेपछि खार्तुमको जनजीवन प्रभावित भएको छ। अस्पतालमा अक्सिजनलगायत अत्यावश्यक कुराको आपूर्ति हुन सकेको छैन।

नागरिकको जीवन अस्तव्यस्त र देशको भविष्य अनिश्चित पार्ने गरी लडाइँ गरिरहेका दुई सैनिक जनरल कुनै बेलाका सहयोगी हुन्।

बुरहान र डागालो सन् २०१९ सम्म एकदमै मिलेका थिए। ठूला ठूला प्रदर्शन हुन थालेपछि त्यही वर्ष उनीहरूले राष्ट्रपति ओमार अल बसिरलाई हटाउनलाई उनीहरूले भूमिका खेलेका थिए। 

तीन दशक सुडानको बागडोर सम्हालेका बसिरले डार्फर क्षेत्रमा विद्रोहीलाई दबाउन आरएसएफ गठन गरेका थिए। सुरूमा आरएसएफका प्रमुख डागालो बसिरप्रति पूर्ण बफादार थिए। पछि उनले बसिरको साथ छोडेका थिए।

बसिरको बहिर्गमनसँगै सुडानमा सैनिक र नागरिक सम्मिलित सरकार बनेको थियो।

सन् २०२१ उक्त सरकारलाई अपदस्त गर्दै सेना प्रमुख बुरहानले सत्ता हत्याएका थिए।

त्यसपछि यी दुई जनरलबीच द्वन्द्व सुरू भएको हो। भित्रभित्रै सल्किरहेको द्वन्द्व गत शनिबारदेखि सतहमा आएको हो। जतिबेला उनीहरूले एक-अर्काका क्याम्पमा आक्रमण गर्न थाले।

नागरिक शासन पुनर्स्थापनाका लागि अर्ध सैनिक बल आरएसएफलाई सेनामा समायोजन गर्ने विषयमा को हाबी हुने भन्ने विषय अहिलेको लडाइँको प्रमुख कारण हो। 

बुरहानले आरएसएफ एक विद्रोही समूह भएको र आफूलाई गिरफ्तार गरेर मार्न चाहिरहेको बताएका छन्।

सुडानमा सेनाको संख्या २ लाख २० हजार जति छ भने आरएसएफको संख्या ७० हजारको हाराहारीमा छ।  यो लडाइँ कहिले सकिन्छ भन्ने स्पष्ट छैन।