![](https://rojgariapp.com//storage/570/rastriya_parichaya_partra_national_id_3DTOma2P1u.jpg)
By : Rojgari App
राष्ट्रिय परिचयपत्रको लागि एक करोड २२ लाखले दिए विवरण, कार्ड पाउने तीन लाख मात्र
राष्ट्रिय परिचयपत्रको लागि एक करोड २२ लाख सेवाग्राहीले विवरण दर्ता गराएका छन्। यसमध्ये करिब १३ लाख कार्ड छापिएको छ भने जम्मा ३ लाख सेवाग्राहीको हातमा परिचयपत्रको कार्ड पुगेको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार हाल काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरू (काठमाडौं, भक्तपुर र ललितपुर) सहित कञ्चनपुर,अछाम, गुल्मी, विराटनगर, मकवानपुर, स्याङ्जा, बाँके, दाङ, चितवन, मोरङ, कैलाली र तेह्रथुम गरी १५ जिल्ला प्रशासन कार्यालयहरूबाट कार्ड वितरण भइरहेको छ।
यसबाहेक थप जिल्ला प्रशासन कार्यालयहरूमा पनि छापिएको कार्ड पुर्याउने काम भइरहेको विभागको राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक सूर्यबहादुर खत्री बताउँछन्।
‘छापिसकेको कार्डहरू सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने काम हुँदैछ। ती कार्डहरू छिट्टै सेवाग्राहीहरूले पाउनुहुनेछ,’ उनले भने।
उनका अनुसार सेवाग्राहीहरूको हातहातमा राष्ट्रिय परिचयपत्रको कार्ड नपुगे पनि राष्ट्रिय परिचयपत्र नम्बर (एनआइएन) भने विवरण बुझाएको २४ घण्टा भित्रै उपलब्ध गराइन्छ। एनआइएन विभागबाट प्रदान गरिने १० अंकको नदोहोरिने पृथक नम्बर हो। परिचयपत्र आवश्यक पर्ने स्थानहरूमा यही एनआइएन नम्बर बुझाए पुग्छ।
राज्यबाट प्रदान गरिने कुनै पनि सेवा सुविधा जस्तै राहदानी लिन, सामाजिक सुरक्षा भत्ता लिन, राहत तथा अनुदान लिन, मतदान गर्न, सम्पत्ति खरिद-बिक्री गर्न, व्यक्तिगत घटना दर्ता गर्न र बैंकमा खाता खोल्न तथा कारोबार गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भनिएको छ। साथै मोबाइलको सिमकार्ड लिनको लागि समेत भविष्यमा राष्ट्रिय परिचयपत्र अनिवार्य पेश गर्नुपर्ने हुन्छ।
यी क्षेत्रमध्ये हाल राहदानी लिनुपर्दा भने राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। निर्देशक खत्रीका अनुसार छिट्टै अन्य क्षेत्रमा पनि यो अनिवार्य गरिनेछ र यसको लागि आवश्यक कार्य अघि बढाइएको छ।
अहिले यिनै क्षेत्रहरूमा आवश्यक परे प्रक्रिया अघि बढाउन कार्ड नभए पनि राष्ट्रिय परिचयपत्र नम्बर बुझाए पुग्छ। ‘सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको लागि निवेदन दिएको २४ घण्टाभित्रै एसएमएसमार्फत आरएनआइ उपलब्ध गराउँछौं। त्यही नम्बर आवश्यकता अनुसार बुझाउन सक्नुहुन्छ। कार्ड अनिवार्य भन्ने छैन,’ निर्देशक खत्रीले भने।