Date : 2023-04-19


राष्ट्रपति पौडेललाई उपचार गर्न दिल्ली लगिँदै

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँदिल्ली लगिँदै छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई श्री एयरलाइन्स मार्फत् नयाँदिल्ली लैजान लागिएको हो ।


स्रोतका अनुसार राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन देखिएको छ । इन्फेक्सन नघटेपछि उनलाई भारतको एम्स अस्पतालमा उपचार गराउन लैजान लागिएको हो ।

यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । त्यसको फलोअपका लागि उनी सोमबार पुनः अस्पताल पुगेका थिए ।

मंगलबार पुनः स्वास्थ्य असहज भएपछि राष्ट्रपति पौडेल अस्पताल पुगेका थिए । स्वास्थ्यमा सुधार नदेखिएपछि भारत लगेर उपचार गराउन चिकित्सकहरूले सल्लाह दिएका थिए ।