Date : 2023-05-17


रुसले काठमाडौंमा मस्को रेलवेसँग मिल्दोजुल्दो रेलवे निर्माण सँग १३ परियोजनाको प्रस्ताव

रुसी सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुन सक्ने विभिन्न १३ वटा परियोजनाका लागि नेपाल सरकारसँग बिस्तृत परियोजना प्रस्ताव मागेको छ।

रुसले विद्युतीय रेलवे, राजमार्ग, बालबालिका क्यान्सर अस्पताल निर्माणदेखि नेपाली विद्यार्थीलाई मस्कोमा अध्ययनका लागि छात्रबृत्ति कोटा बढाउनेसम्मका परियोजना रहेका छन्।

अध्यक्ष तिमिल्सिनाले वैशाख ६ गतेदेखि ११ गतेसम्म गरेका रुस भ्रमणका क्रममा रुसको उपल्लो सदन फेड्रल एसेम्बलीका अध्यक्ष भ्यालेन्टिना मात्भिएन्को, रुसी तल्लो सदन डुमाका अध्यक्ष भ्याचेस्लाभ भोलोदिन र रुसी उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोका बिचमा भएको छलफलमा विभिन्न परियोजना अघि बढाउने विषय उठेका थिए।

नेपालस्थित रुसी दूतावासले राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई मे ४ मा पत्र लेख्दै नेपाल सरकारबाट बिस्तृत परियोजना प्रस्तावहरु अघि बढाउन आग्रह गरेको छ।

रुसले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग र काठमाडौंमा मस्को रेलवेसँग मिल्दोजुल्दो रेलवे निर्माण गर्न तथा नेपालको मुख्य पर्यटकीयस्थ पोखरादेखि नजिकका पर्यटकीयस्थलहरुलाई जोड्ने पोखरा–रिडी सडक निर्माणका लागि परियोजना प्रस्ताव मागेको छ। पोखरादेखि पर्वत हुँदै गुल्मी पुग्ने पोखरा–रिडी सडकको लागत झण्डै ४ अर्ब रहेको छ।

अध्यक्ष तिमिल्सिनाको प्रस्ताव अनुसार यो सडक रुसले आफ्नै लगानीमा निर्माण गर्न इच्छा देखाएको छ। यो सडक पोखराको पामेबाट पर्वतका ६ वटा पालिका हुँदै गुल्मीको रिडीसम्म पुग्ने दोहोरो साइकल लेनसहित निर्माण गरिने छ।

यसैगरी काठमाडौं र पोखरामा दुईवटा बालबालिकाको क्यान्सर सम्बन्धी उपचार गर्ने अस्पताल निर्माण गर्न पनि रुसले चासो देखाएको छ। उक्त अस्पतालमा प्रारम्भिक चरणमा रुसी डाक्टरहरू उपलब्ध गराउने र सो सम्बन्धी अनुभव नेपाली विशेषज्ञलाई हस्तान्तरण गर्ने प्रस्ताव रुसले गरेको छ।

अहिले नेपालबाट वार्षिक १८ जना विद्यार्थीलाई रुसले छात्रबृत्ति उपलब्ध गराउँदै आएकोमा चिकित्सा र इन्जिनियरिङ  विषय अध्ययनका लागि वार्षिक १ सय ५० देखि २ सय विद्यार्थीलाई छात्रबृत्ति कोटा उपलब्ध गराउन खोजेको छ।

भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्री चेर्निसेन्को बिच भएको छलफलमा नेपालमा जिटुजी मार्फत रासायनिक  मल र गहुँ निर्यात गर्न रुसले चासो देखाएको थियो। रुसले रासायनिक मल र गहुँ बाहेक पेट्रोलिय पर्दाथ पनि प्रत्यक्ष रुपमा उपलब्ध गराउने प्रस्ताव मागेको छ।

यस्तै, रुसले नेपालसँग मस्कोबाट सिधा हवाइ उडान गर्ने, नेपालको हिमाली तथा पहाडी क्षेत्रमा उपयुक्त हुने रुसी हेलिकप्टर बिक्री गर्ने तथा नेपालका पहाडी क्षेत्रका लागि उपयुक्त हुने सवारी साधानहरुको बिक्री गर्न पनि चासो राखेको छ। अध्यक्ष तिमिल्सिनाको निम्तो स्विकार्दै रुसको उपल्लो सदन र तल्लो सदनका प्रमुखले छिट्टै नेपालको भ्रमण गर्न प्रस्ताव पनि पठाएको छ।

रुसी प्रस्तावका बारेमा अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि मन्त्री डा. बेदुराम भुसाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, शिक्षा मन्त्री अशोक राई, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बुलाई समेत परियोजना कार्यान्वयन गर्नका लागि प्रस्ताव तयार गर्न आग्रह गरेका छन्।

सरकारका तर्फबाट सबै मन्त्रालयले प्रस्ताव तयार गरेर पठाउने क्रम समेत शुरु भएको छ।