Date : 2023-10-03
पैसा लिएर विदेश नपठाएपछि पेस्तोलबाट गोली प्रहारको प्रयास, असफल भएपछि चक्कु आक्रमण
सोमबार दिउँसो गौशालामा पिके डायगोनिस्टिक प्रालिका सञ्चालक साबिर हुसेनमाथि आक्रमण गर्नुको मुख्य कारण वैदेशिक रोजगारीसँग जोडिएको खुलेको छ।
आक्रमणमा संलग्न रहेको आरोपमा पक्राउ परेका सिकिलदेव सहनीले आक्रमण गर्नुको मुख्य कारण वैदेशिक रोजगारी रहेको प्रहरी समक्ष बयान दिएका छन्। उनले दिएको बयान अनुसार साबिरले वैदेशिक रोजगारीमा विदेश पठाइदिन्छु भन्दै १ लाख रुपैयाँ लगेका थिए। तर लामो समयसम्म विदेश नपठाएपछि रकम फिर्ता गर्न भन्दा समेत फिर्ता गरेनन्। रकम पनि फिर्ता नगर्ने र विदेश पनि नपठाउने भएपछि त्यसैको बदलामा साबिरमाथि आक्रमण गरेको सिकिलदेवको बयान छ।
आक्रमण गरेपछि टेम्पोमा चढेर सिकिलदेव फरार भएका थिए। फरार रहेका सिकिलदेव काठमाडौंबाट बाहिरिन लागेको अवस्थामा कलंकीबाट सोमबार साँझ पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध प्रहरी कार्यालयका एआईजी दीपक थापाले बताएका छन्।
सिकिलदेवसँगै अर्का एक युवा पनि सँगै गएर साबिरमाथि आक्रमण गरेका थिए। अर्का युवाको पनि पहिचान भइसकेको प्रहरीले जनाएको छ। उनी भने अहिलेसम्म फरार छन्।
साबिरमाथि सुरुमा पेस्तोलबाट गोली प्रहारको प्रयास गरिएको थियो। तर गोली प्रहारको प्रयास असफल भएपछि चक्कु आक्रमण गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। ‘पुरानो कटुवा पेस्तोलबाट प्रहार गरे पनि गोली नपड्किएपछि चक्कुमार्फत आक्रमण गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने। प्रहरीले घटनास्थलबाट चक्क, कटुवा पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली समेत बरामद गरेको छ।
आक्रणबाट घाइते साबिरको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। गौशालाको शारदा माध्यमिक विद्यालय नजिकै हुसेनमाथि आक्रमण भएको थियो। बाराको कलैया नगरपालिका-२१ घर भई हाल कोटेश्वर बस्दै आएका हुसेनको दाहिने तिघ्रा र ढाडमा चोट लागेको छ।