Date : 2023-07-18


पछि हट्यो अध्यागमन, श्रम स्वीकृतिमा हस्तक्षेप नगर्ने प्रतिबद्धता

अध्यागमन विभाग वैदेशिक रोजगार ऐन तथा नियमावली र यसअघिका सहमतिअनुसार वैदेशिक रोजगारमा जाने नेपाली कामदारको अध्यागमन व्यवस्थापन गर्न सहमत भएको छ । अघिल्लो हप्ता वैदेशिक रोजगारमा कुवेत र जोर्डन जाने कामदार फर्काएको र त्यसको निरन्तर बचाउ गरेकोे अध्यागमनले सोमबार भने विगतमा भएका सहमतिअनुसार जान तयार रहेकोे बताएको छ । वैदेशिक रोजगार ऐन तथा नियमावलीअनुसार वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गरेका कुवेत र जोर्डन जाने डेढ सय बढी कामदार बिनाकारण रोकेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा व्यवसायीहरूले विभागका महानिर्देशक झलकराम अधिकारीको राजीनामा माग गर्दै अध्यागमन घेराउ गरेका थिए । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको छलफलमा कामदार रोकेको विषयमा स्पष्ट जवाफ नदिएर आलोचनाको केन्द्रमा परेका महानिर्देशक अधिकारीले मातहत कर्मचारीमार्फत विज्ञप्ति जारी गराइ भिसा ट्रान्सलेसन गराउनेदेखि व्यवसायीलाई वैदेशिक रोजगारमा जाने कामदारका बारेमा लिखित प्रतिबद्वता जनाउने बाध्य पार्ने परिबन्ध तयार गरेका थिए । व्यवसायीको चौतर्फी विरोधसँगै वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिको काममा हस्तक्षेप नगर्न भन्दै ७ बुँदे आग्रह गरेपछि अध्यागमन तत्कालका लागि पछि हटेको देखिएको छ । यता वैदेशिक रोजगार व्यवसायीहरूले भने श्रम स्वीकृति लिएका कामदारको प्रस्थानलाई नजिकैबाट नियाल्ने बताएका छन् । सोमबार विज्ञप्ति जारी गर्दै अध्यागमनले वैदेशिक रोजगार ऐन तथा नियमावलीअनुसारको श्रम स्वीकृतिमा कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाउँदै २०७० साल कात्तिक २५ गते नेपाल राजपत्रमा प्रकाशित सूचना र श्रम स्वीकृति तथा भिसामा देखिने सानातिना फरकका विषयमा दुई विभागका बीचमा २०७१ साल वैशाख ३० गते भएको संयुक्त निर्णय प्रभावकारी कार्यान्वयनमा लैजाने विषयमा सहमति जनाएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसार श्रम स्वीकृति प्रदान गर्ने गरिएको भन्दै अनुचित हस्तक्षेप नगर्न अध्यागमन विभागको ध्यानाकर्षण गराएको थियोे ।