Date : 2023-06-15


निर्यात हुन थाल्यो बिजुली, दैनिक ३०० मेगावाट भारततिर

नेपाल विद्युत प्राधिकरणले फेरि भारतमा ठूलो मात्रामा विद्युत निर्यात सुरु गरेको छ । पछिल्ला हप्तामा वर्षातसँगै नदीमा पानीको सतहमा भएको वृद्धिका कारणले विद्युत निर्यात सुरु भएको हो ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार विगत ५ दिनदेखि ३०० मेगावाटभन्दा बढी विद्युत निर्यात भइरहेको छ । अब नेपालमा मनसुन प्रवेश गरेकाले असार महिनाभर नै विद्युत निर्यात गर्न सकिने अनुमान गरिएको उनले बताए । असारपछि मंसिरसम्म त झन् ठूलो मात्रामा विद्युत निर्यात गर्नुपर्ने प्रक्षेपण छ ।

‘नदीहरुमा पानीको सतह बढेको छ, अब निर्यात नियमित हुन्छ,’ प्रवक्ता भट्टराईले भने, ‘दैनिक ७–८ हजार मेगावाटआवर बिजुली निर्यात हुन थालेको छ ।’ प्राधिकरणले औसत प्रतियुनिट भारु ५.२४ अर्थात् ८ रुपैयाँ ३८ पैसामा भारतलाई बिजुली बेचिरहेको छ । भारतबाट केही समयका लागि माग व्यवस्थापन गर्न दैनक १ हजार मेगावाट आवर मात्रै बिजुली आयात भइरहेको छ ।

नेपालमा खपत हुन नसकेको बिजुली प्राधिकरणले भारतको ऊर्जा एक्सचेञ्ज बजारको ‘डे अहेड’ मार्केटमा बेचिरहेको छ । बेच्न सकिने बिजुली अघिल्लो दिन नै भारतीय ऊर्जा बजारको प्रणालीमा बोलकबोलका लागि राख्ने र सो अवधिमा प्रणालीले माग र आपूर्तिका आधारमा निर्धारण भएको दरमा बेच्ने गरिएको छ ।