![](https://rojgariapp.com//storage/913/nepal-game.jpg)
By : Rojgari App
नेपालले एकै खेलमा बनाएका विश्व कीर्तिमान
१९औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा बुधबार मंगोलियाविरुद्ध कीर्तिमानी जित निकालेको छ । नेपालले मंगोलियालाई दुई सय ७३ रनले पराजित गरेको हो । नेपालले मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३.१ ओभरमा ४१ रनमा अलआउट गर्यो ।
१. सर्वाधिक ठूलो स्कोर
नेपाल टी-२० आई इतिहासमा ३ सयभन्दा बढी रन बनाउने पहिलो टोली बनेको छ । यसअघि टी-२० आईमा उच्च योगफल अफगानिस्तानले २०१९ मा आयरल्यान्डविरुद्ध २७८/३ रन बनाएको थियो भने ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीविरुद्ध २७८/४ बनाएको थियो । नेपालले भने ३१४ रन बनाउँदै सर्वाधिक ठूलो स्कोरको विश्व कीर्तिमान बनाएको छ ।
२. ठूलो अन्तरको जित
नेपालले मंगोलियालाई २ सय ७३ रनले हरायो । यो टी-२० आई इतिहासकै फराकिलो जित हो । यसअघि चेक रिपब्लिकनले टर्कीविरुद्ध २०१९ मा २ सय ५७ रनले हराएको थियो ।
३. सर्वाधिक छक्का
नेपालले मंगोलियाविरुद्धको खेलमा एकै इनिङमा सर्वाधिक छक्काको विश्व कीर्तिमान पनि बनाएको छ । ३१४ रनको उच्च स्कोर बनाउने क्रममा नेपाली ब्याट्सम्यानहरुले २६ छक्का हानेका थिए । नेपालका लागि कुशल मल्लले १२, दीपेन्द्रसिंह ऐरीले ८ र रोहित पौडेलले ६ छक्का प्रहार गरे । यसअघि अफगानिस्तानले २०१९ मा आयरल्यान्ड तथा वेस्टइन्डिजले दक्षिण अफ्रिकाविरुद्ध २०२३ मा समान २२ छक्का प्रहार गरेका थिए ।
४. सर्वाधिक रन रेट
मंगोलियाविरुद्धको खेलमा नेपालले सर्वाधिक रन रेटको रेकर्ड पनि बनाएको छ । मंगोलियाविरद्ध ३१४ रन बनाएको नेपालको रन रेट १५.७ रह्यो । २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८/३ बनाउने क्रममा १३.९ को रन रेट कायम गरेको थियो ।
५. छिटो शतक
मंगोलियाविरुद्ध नेपालका कुशल मल्लले सर्वाधिक छिटो शतकको विश्व कीर्तिमान बनाएका छन् । कुशल मल्लको ३४ बलमा शतक प्रहार गरे । यसअघि भारतका रोहित शर्मा र दक्षिण अफ्रिकाका डेविड मिलरले श्रीलंकाविरुद्ध समान ३५ बलमा शतक हानेका थिए । त्यस्तै चेक रिपब्लिकनका सुदेश विक्रमशेखरले टर्कीविरुद्ध ३५ बलमै शतक हानेका थिए ।
६. छिटो अर्धशतकको दुर्लभ कीर्तिमान
मंगोलियाविरुद्ध भएको खेलका क्रममा दीपेन्द्रसिंह ऐरीले पनि दुर्लभ विश्व कीर्तिमान बनाएका छन् । दीपेन्द्रले ९ बलमा ८ छक्कासहित ५० रन बनाए । यो कुनैपनि क्रिकेट खेलमा बनेको सर्वाधिक छिटो अर्धशतक हो । यसअघि टी-२० आईमा भारतका युवराज सिंहले १२ बलमा अर्धशतक बनाएका थिए । उनले १९ सेप्टेम्बर २००७ इंग्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।
७. स्ट्राइक रेटमा ऐरीको कीर्तिमान
नेपालका दीपेन्द्र सिंह ऐरीले स्ट्राइक रेटमा पनि विश्व कीर्तिमान बनाएका छन् । १० बलमा अविजित ५२ रन बनाएका ऐरीको स्ट्राइक रेट ५२०.०० रहृयो । यसअघि वेष्ट इण्डिजका डवेन स्मिथले १३ सेप्टेम्बर २००७ मा बंगलादेशविरुद्ध मात्र ७ बलमा २९ रन बनाएका थिए । त्यसबेला उनको स्ट्राइक रेटमा ४१४.२८ थियो ।
८. सर्वाधिक ठूलो साझेदारी
मंगोलियाविरुद्धको खेलमा नेपालले सर्वाधिक ठूलो साझेदारीको कीर्तिमान पनि बनाएको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी कायम गर्दा कुशल मल्ल र रोहित पौडेलबीच १९३ रनको साझेदारी भएको थियो । यसअघि टी–२० मा तेस्रो विकेटका लागि सर्वाधिक ठूलो साझेदारीको विश्व कीर्तिमान न्यूजिल्यान्डका डीपी कोनवे र जिडी फिलिप्सको नाममा थियो । उनीहरूले सन् २०२०मा वेस्ट इन्डिजविरुद्धको खेलमा १८४ रनको साझेदारी गरेका थिए ।