Date : 2023-04-18


नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले गुनासो नआउने गरी मापदण्डभित्र वैदेशिक रोजगार अभिमुखीकरण तालिम सञ्चालन गर्न सदस्य संस्थाहरुलाई सूचित गरेको छ ।

नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले गुनासो नआउने गरी मापदण्डभित्र वैदेशिक रोजगार अभिमुखीकरण तालिम सञ्चालन गर्न सदस्य संस्थाहरुलाई सूचित गरेको छ ।

 

वैदेशिक रोजगारीमा जानुपूर्वको तालिम दिने संस्थाहरूले कक्षामा उपस्थित नभएका व्यक्तिहरुलाई पनि तालिम लिएको प्रमाणपत्र दिनेलगायतका लापरबाही गरेको गुनासो बढेको भन्दै महासंघले व्यावसायिक मर्यादामा रहेर कक्षा सञ्चालन गर्न आग्रह गरेको हो । 

 

महासंघले सूचनाअनुसारको हाजिरी सुरक्षित राख्नुपर्ने, निरीक्षण नगराई अनुमति लिएको भन्दा बढी नाम वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा अपलोड नगर्न, तोकिएको पूर्वाधार र जनशक्ति तथा क्लस्टरअनुसारको प्रशिक्षक राख्न, उपत्यकामा ८ संस्थाको १ हाउस र एक हाउसबाट एक प्रतिनिधि पठाउन र बागमती प्रदेशभित्र संगठित भएका हाउसको नामावली प्रदेशलाई जानकारी गराउनुपर्ने भन्दै बिचौलियाबाट व्यवसाय नगर्न तथा सेटिङ नगर्न र नक्कली प्रशिक्षार्थी नराख्नसमेत आग्रह गरेको छ ।

 

महासंघले निर्माण गरेको प्रणालीमा आवद्ध हुन, २०७७ सालमा पारित पाठ्यक्रम र बोर्डको वेबसाइटमा भएको श्रव्यदृश्य सामग्रीअनुसार प्रशिक्षण गराउन, वैदेशिक रोजगार बोर्ड, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागबाट आउने अनुगमन टोलीलाई सहयोग गर्न र एउटा संस्थाले अर्को संस्थालाई युजर नेम, पासवर्ड नदिनसमेत आग्रह गरिएको छ ।