Date : 2023-09-10


नक्कली सरकारी विज्ञप्ति कसले निकाल्यो ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सरकारी भाषासँग हुबहु मिल्ने गरी एकपछि अर्को नक्कली सूचना सार्वजनिक हुन थालेपछि झस्किएको छ । बिहीबार सामाजिक सञ्जालमा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेको हस्ताक्षर प्रयोग गरी दक्षिण कोरियामा मौसमी कामदार लैजाने प्रक्रिया शुरु भएको उल्लेख गरिएको नक्कली सूचना भेटिएको थियो । त्यसलगत्तै मन्त्रालयले विज्ञप्ति जारी गरेर दक्षिण कोरियासँग रोजगार अनुमति प्रणाली (ईपीएस)मा नेपाली कामदार पठाउने सम्झौता मात्रै कार्यान्वयनमा रहेको र उक्त मुलुकसँग मौसमी कामदार पठाउने कुनै पनि सम्झौता नभएको जनाएको थियो । शनिबार एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले मन्त्रालयका उच्च अधिकारीको नाममा नै नक्कली सूचना जारी भएको घटनाले गम्भीर बनाएको बताए । नक्कली सूचनामा कात्तिक २२ गतेसम्ममा १२ हजार मौसमी कामदार पठाउन कोरियासँग सम्झौता भएको उल्लेख छ । मन्त्रालयले सामाजिक सञ्जालहरूमा प्रशारित नक्कली प्रेस विज्ञप्तिको भ्रममा नपर्न आग्रह गर्दै प्रचलित कानून विपरीतका गतिविधिहरूलाई नियन्त्रण गर्न मन्त्रालय सदैव क्रियाशील रहेको बताएको छ । विगतमा धेरै स्थानीय निकायहरूले दक्षिण कोरियाका विभिन्न निकायसँग भगिनी सम्बन्ध कायम गर्दै मौसमी कामदार पठाउने भन्दै तेस्रो पक्ष खडा गरी लाखौं रकम उठाएको सार्वजनिक भएको थियो । हाल सरकारी भाषासँग हुबहु मिल्दोजुल्दो भाषा प्रयोग गरी नक्कली सूचना आउनुलाई सामान्य विज्ञप्ति जारी गरी परम्परागत शैलीमा सामान्यरूपमा लिन नहुने कतिपयको भनाइ छ । वैदेशिक रोजगारका नाममा सामाजिक सञ्चाजमा आकर्षक प्रलोभनसहित अनधिकृतरूपमा छरपस्ट विज्ञापन भइरहेको र शैक्षिक परामर्शदाताका रूपमा खोलिएका कन्सल्ट्यान्सीहरूले म्यानपावर कम्पनीहरूले भन्दा धेरै नेपालीलाई विदेश पठाएको अवस्थामा मन्त्रालय वैदेशिक रोजगारीको प्रक्रिया शुरु गर्नुपूर्व आधिकारिता यकिन गरेर मात्र वैदेशिक रोजगारीको प्रक्रिया थालनी गर्न आग्रह गर्दै विदेश जान खोज्नेलाई नै जिम्मेवारीको भारी बोकाउँछ कि आफ्ना वरिष्ठ अधिकारी, सरकारी लेटरप्याड र छाप दुरुपयोग भएको घटनालाई गम्भीरतापूर्वक लिएर दोषी गिरोह खोज्ने र उनीहरूलाई पक्राउ गराएर कानूनी दायरामा ल्याउन अग्रसर हुन्छ ? धेरैका लागि जिज्ञासा र कौतुहलताको विषय बनेको छ ।