Date : 2023-08-24


मधेशको शिक्षा कसको जवाफदेही ? मधेश मा शिक्षा : किन हुँदैछ कमजोर ?

मधेश प्रदेशको साक्षरता दर अरू प्रदेशको भन्दा कम छ । मुलुकको समग्र साक्षरता दर ७६.२ प्रतिशत हुँदा मधेशको ५४.७ प्रतिशत मात्र छ । सबैभन्दा कम साक्षरता दर भएको जिल्ला मधेशको रौतहट हो जहाँ ४९.४८ प्रतिशत मात्र छ । नेपालका ६४ जिल्ला र ५ प्रदेश पूर्ण साक्षर घोषित भइसके तर मधेश प्रदेशको एउटा जिल्ला पनि पूर्ण साक्षर भएको छैन । ७७ जिल्लामध्ये कम साक्षरता दर भएका ५ जिल्लामध्ये ४ वटा रौतहट, महोत्तरी, सर्लाही र बारा मधेशमै पर्छन् । खाली पेट, असुरक्षित खेत र गुणात्मक शिक्षाको अभावले मधेशको रूपान्तरण सम्भव छ ? मधेशको शिक्षालाई बेवास्ता गर्दै जाने हो भने यसले ल्याउने परिणाम के हुन्छ ? टोलपिच्छे भेटिने भव्य प्रवेशद्वार अनि खाली खुट्टा हिँडिरहेका सेवाग्राहीबीचको सम्बन्धझैं देखिन्छ सरकार र मधेशको सम्बन्ध । कंक्रिटप्रेम झल्किने विद्यालयका ठूलठूला भवनले मात्रै मधेशको शिक्षाभित्रको शून्यतालाई घटाउन सक्लान् ? कुनै समय मधेशका शिक्षकले पहाड र हिमालसम्म पुगेर देशको शैक्षिकस्तर उकास्न गरेको योगदान र आज मधेशमै शिक्षकको अभावका बीच तारतम्य के होला ? कहिले बुझ्ने ? निजी विद्यालयमा पढाउँदै गरेका एक प्रतिभाशाली विषयविज्ञ व्यक्ति शिक्षक सेवा आयोगमा नाम निकालेर जब सामुदायिक विद्यालयमा पुग्छन्, उनको क्षमताको भरपूर उपयोग गर्न सम्बन्धित विद्यालयले किन सकेको छैन ? यो विषयमा कसले सोच्ने ? शिक्षाको गुणस्तरका लागि शिक्षकलाई मात्रै दोष दिन मिल्छ ? तिनको क्षमता बढाउने, सिक्ने वातावरण बनाउने र उत्साह थप्ने जिम्मा कसको ? विद्यालयमा भौतिक साधनस्रोतको सम्पन्नताले मात्रै गुणात्मक शिक्षाको सुनिश्चितता दिन सकिन्छ ? शिक्षकहरूलाई सम्मानका साथ विद्यालयमा बस्ने र खुसीसहित ज्ञानको ऊर्जा लिएर कक्षाकोठामा जाने वातावरण बनाउनु पर्दैन ? ‘यी मास्टर त हुन्’ भन्दै होच्याउने प्रवृत्तिले तिनको मनोबल गिराउँछ । त्यसको असर कुनै एउटा विद्यार्थीलाई मात्रै होइन, समग्र देशलाई नै पर्छ । शिक्षकलाई जवाफदेह बनाउन, पेसाप्रति लगाव बढाउन सम्बन्धित सम्पूर्ण सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुन्छ । समग्रमा, विद्यालय शिक्षाप्रति सरकारको उदासीनता र निरीहताले समाजलाई सक्षम पुस्ता दिन सक्दैन; देशले असल नागरिक पाउन सक्दैन । त्यसैले यसप्रति विशेष संवेदनशील हुन आवश्यक छ । त्यसमाथि मधेशको विद्यालय शिक्षालाई केन्द्रमा राख्न जरुरी छ । शिक्षा तथा मानव श्रोत विकासको पछिल्लो तथ्यांक अनुसार मधेश प्रदेशका ८ जिल्लामा प्रारम्भिक बाल विकास केन्द्र ४ हजार ७ सय ४६ र आधारभूत विद्यालय (कक्षा १ देखि ५ सम्म) ३ हजार ४ सय २५ वाट रहेका छन् । यसैगरी कक्षा ६ देखि ८ सम्म अध्ययन अध्यापन हुने विद्यालयको संख्या १ हजार २ सय २, कक्षा ९ देखि १० सम्म पढाई हुने विद्यालयको सङ्ख्या ५ सय ३९ तथा कक्षा ११ र १२ को पढाई हुने विद्यालयको संख्या ३ सय ६६ रहेको छ । मधेश प्रदेशमा शिक्षकहरूको संख्या १७ हजार ५ सय २७ जना रहेको शिक्षा विकास निर्देशनालयले जनाएको छ । मधेश प्रदेशको सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि १२ सम्ममा १३ लाख ७७ हजार ८ सय ३७ विद्यार्थीहरू अध्ययनरत रहेका छन् । ती मध्ये कक्षा १ देखि ५ सम्ममा ८ लाख ४२ हजार १ सय ४१ जना, कक्षा ६ देखि ८ सम्ममा २ लाख ५४ हजार ७ सय ३४ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् । माध्यमिक तहको कक्षा ९ देखि १० सम्म १ लाख ९ हजार ७ सय ७४ जना र कक्षा ११ देखि १२ सम्मको कक्षामा ३७ हजार ९ सय २७ विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।