Date : 2023-07-17
Manpower व्यवसायी सडकमा, अध्यागमन भने झन् कडाइतिर
काठमाडौं : अध्यागमन विभाग वैदेशिक रोजगारीमा जाने प्रक्रियालाई थप झन्झटिलो र अस्तव्यस्त बनाउने योजनमा देखिएको छ । श्रम स्वीकृति लिएर जान लागेका कामदारहरूलाई पटक–पटक रोकेर अध्यागमन विभागले बदनियत राखी काम गरेको भन्दै वैदेशिक रोजगार व्यवसायी सडक आन्दोलनमा उत्रिएका बेला अध्यागमन विभाग प्रक्रियालाई सहजीकरण भन्दा अध्यागमन ऐन कानूनको पालनाका नाममा कामदार रोक्ने योजनामा देखिएको व्यवसायीले बताएका छन् ।
अध्यागमनले आइतबार विज्ञप्ति नै जारी गरी आगामी दिनमा वैदेशिक रोजगारीमा कुवेत जानेहरूसँग थप कागजात मागिने बताएको छ । अध्यागमन विभागले कुवेत जाने कामदारले अंग्रेजी भाषाबाहेक अन्य भाषामा भएका भिसा अनिवार्यरूपमा अंग्रेजी भाषामा अनुवाद गरी नोटरीबाट प्रमाणित गराउनुपर्ने, प्यारेन्ट वा होल्डिङ कम्पनी अन्तर्गतको कम्पनीसँग सम्झौता गरी श्रम स्वीकृति लिएको भए उक्त प्यारेन्ट वा होल्डिङ कम्पनी आफू मातहत रहेकोे कम्पनी हो भनी लेखिएको आधिकारिक पत्र पेश गर्नुपर्ने र कुवेत जाने कामदारको ई–भिसामा सम्बन्धित म्यानपावर कम्पनीले सम्पूर्ण जिम्मेवारी लिएको प्रतिबद्धतापत्र पेश गर्नुपर्ने बताएको छ ।
व्यवसायीलाई प्रतिबद्वता पेश गर्न लगाएर कामदारलाई वैदेशिक रोजगारमा पठाउने व्यवस्था अध्यागमन ऐन विपरीत रहेको व्यवसायीहरूको भनाइ छ । यसका अतिरिक्त अध्यागमन विभागले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको भिसामा उल्लेख भएको रोजगारदाताको नाम र श्रम स्वीकृति÷सम्झौतापत्रमा उल्लेख भएको रोजगारदाताको नाम र पेसा एउटै हुनुपर्ने सर्त पनि राखेको छ । अध्यागमनको उक्त सर्त रोजगारदाता कम्पनीको डिमाण्ड अनुसार गन्तव्य देशको भिसामा उल्लेखित पद दुरुस्त नमिल्ने भएपनि श्रम स्वीकृति दिने नेपाल सरकारको २०७० साल कात्तिक २५ गतेको निर्णय विपरीत रहेको देखिएको छ ।
२०७१ वैशाख ३० गते अध्यागमन विभागले पनि सोहीअनुसारको निर्णय गरेको थियो। अध्यागमन विभागले आफ्नै पूर्वनिर्णय विपरीत विज्ञप्ति जारी गरेको व्यवसायीहरूको भनाइ छ । एक व्यवसायीले भने, ‘तत्कालीन सरकारले श्रम स्वीकृतिको प्रक्रियालाई सरलीकृत गर्न राजपत्रमै प्रकाशित गरेको थियो । तर वैदेशिक रोजगार प्रक्रिया र विदेशबाट जारी हुने भिसाको प्रकृति नबुझ्ने अध्यागमन अधिकारीले समस्या सिर्जना गर्ने र मुलुकको वैदेशिक रोजगारलाई समाप्तिको बाटोमा लैजाने षड्यन्त्र गरेका छन् ।’
व्यवसायीले अध्यागमन विभागको गलत कार्यविधि सच्याउन माग गर्दै आइतबार कालिकास्थानस्थित अध्यागमन विभागसमेत घेराउ गरेका थिए । उनीहरूले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको राजीनामा माग गरेका छन् ।
नेपालबाट हुने वैदेशिक रोजगार प्रक्रिया झन्झटिलो रहेको भन्दै विदेशस्थित रोजगारदाताले असन्तुष्टि व्यक्त गरिरहेको बेला अध्यागमन विभाग सर्तमाथि सर्त राखेर वैदेशिक रोजगार क्षेत्रलाई तहशनहस पार्ने षड्यन्त्रमा लागेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।
विभिन्न प्लेकार्डसहित विभाग घेराउमा पुगेका व्यवसायीले अध्यागमन महानिर्देशक ‘डिजी होइन दलाल हो’, ‘वैदेशिक रोजगारीमा जाने श्रमिक र व्यवसायीलाई दुःख दिने काम बन्द गर’, ‘भिजिट भिसा बन्द गर’लगायतका आक्रोशपूर्ण नारा लगाएका थिए । विभागमा उपस्थित व्यवसायीलाई अध्यक्ष भण्डारी तथा महासचिव मेघनाथ भुर्तेलले सम्बोधन गरेका थिए ।