Date : 2025-02-09


मलेसियामा तलब १ हजार ५०० रिंगेटबाट १७०० रिंगेट

क्वालालम्पुर, मलेसिया : मलेसियामा यसै महिनादेखि बढेको तलब पाउने कामदारको संख्या ४३ लाख हाराहारीमा हुने अनुमान गरिएको छ । यससँगै वृद्धि भएको श्रमिकको न्यूनतम तलबले अर्थतन्त्रलाई तीव्रता दिनेदेखि महँगी बढाउने बहस एकसाथ सुरु भएको छ ।

विज्ञहरूले न्यूनतम तलब १ हजार ५०० रिंगेटबाट १ हजार ७०० रिंगेट पुगेकाले स्वदेशीसहित विदेशी कामदारको क्रय शक्ति बढ्ने अपेक्षा गरिएको बताएका छन् । मलेसियामा स्वदेशी तथा विदेशी कामदारको एउटै तलव स्केल कायम गरिएको छ ।

मलेसियाको युनिभर्सिटी केबाङ्सान मलेसिया (यूकेएम)का विकास, सामाजिक र वातावरण अनुसन्धान केन्द्रका अध्यक्ष प्रोफेसर डा. नोभेल लिन्डनले तलब वृद्धिले अप्रत्यक्ष रूपमा खर्चहरू व्यवस्थापन गर्न सक्षम पार्दै श्रमिकको जीवनको गुणस्तरमा सुधार ल्याउने बताए ।

कतिपयले तलबमा गरिएको वृद्धिले स्थानीय युवाहरूलाई रोजगारीमा आकर्षित गर्ने र विदेशी कामदारको निर्भरता घटाउने टिप्पणी गरेका छन् । तलब वृद्धिले विक्री र सेवा कर (एसएसटी) संकलनमार्फत सरकारी राजस्व बढाउने र मूल्य बढ्ने आँकलन पनि उनीहरूले गरेका छन् । 

तलब वृद्धिपछि यसै महिनादेखि मलेसियामा काम गर्ने नेपालीले अघिल्लो महिना जनवरीको तुलनामा मासिक ६ हजार २४३ रुपैयाँले थप गरेर न्यूनतम ५३ हजार ४३ रुपैयाँ  पाउने छन् । जनवरीसम्म उनीहरूले मासिक न्यूनतम तालब ४६ हजार ८०० पाउँदै आएका छन् ।

मलेसियामा पहिलोमा बंगलादेशी, दोस्रोमा इन्डोनेसियाली र तेस्रोमा नेपाली कामदारको संख्या छ । सेप्टेम्बरसम्म बंगलादेशी ९ लाख ३४ हजार ५४२, इन्डोनेसियाली ५ लाख ९५ हजार ८११ र नेपाली ३ लाख ९९ हजार ६१४ जना छन् ।

पारिश्रमिक वृद्धिपछि मलेसियाबाट हाल नेपाल गइरहेको रेमिट्यान्समा प्रतिमहिना २ अर्ब ५० करोड र वार्षिक ३० अर्ब रुपैयाँले वृद्धि हुने अपेक्षा छ । १ फेब्रुअरीदेखि बढेको तलब पूर्ण रूपमा लागू गर्न÷गराउन गृह मन्त्रालय र श्रम मन्त्रालयले सबै रोजगारदाता कम्पनीलाई कडा निर्देशन दिँदै वृद्धि गरिएको तलब नदिए ठूलो रकम जरिमाना गरिने चेतावनी दिइएको छ । 

५ जनाभन्दा कम कामदार रहेका साना रोजगारदाताले आगामी अगस्टदेखि मात्र नयाँ तलब लागू गर्न पाउने छुट पाएका छन् ।

तलब वृद्धिको निर्णयप्रति मलेसियामा काम गर्ने स्थानीयदेखि विदेशी सबै कामदारले सकारात्मक प्रतिक्रिया दिएका छन् । कुल श्रम जनशक्तिको १५ प्रतिशतभन्दा बढी विदेशी कामदार नबढाउने नीति लिएको मलेसियामा गत ३१ मेदेखि रोकिएको नयाँ विदेशी कामदारको एप्रुभल छिटफुटबाहेक खुलाएको छैन । तर, प्रतिबन्ध खुलाउन निजी क्षेत्रको चर्को दबाब छ ।


-Copy Madhyanha