Date : 2023-08-18


मलेसियामा पीआईकेमबीच दश बुँदे सहमति

नेपाली वैदेशिक रोजगार व्यवसायी र नेपालबाट मलेसिया कामदार लैजाने मलेसियन वैदेशिक रोजगार व्यवसायीबीच स्वच्छ एवम् मर्यादित कामदार भर्नासहित आपसी सम्बन्ध सुदृढ गर्न १० बुँदे सहमति भएको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा संघका पदाधिकारीहरु मलेसियामा रहेको समयमा बिहीबार मलेसियको पेरसातौन इण्डस्ट्रीज केसेलामतान (पीआईकेम)सँग मलेसियाको रोजगारीका विविध पक्षमा छलफल भइ १० बुँदे सहमति भएको हो । सहमति पत्रमा नेपालबाट कामदार लैजाने सिलसिलामा देखिएका अप्ठ्याराहरु फुकाउने तथा मलेसियाका रोजगारदाता उद्योग व्यवसायी संघ संस्थाहरुसँग निरन्तर मैत्रीपूर्ण सम्बन्ध, छलफल र सहकार्य गरी वैदेशिक रोजगार व्यवसायी र रोजगारदाताबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्ने उल्लेख छ । सहमतिमा मलेसियामा निकट भविष्यमा गरिने जब फेयरसम्बन्धी विषय पनि समेटिएको छ । दुवै पक्षले कामदारको सहज भर्नामा अनुभव तथा दृष्टिकोण आदानप्रदान गर्ने, मलेसियामा दर्ता नभएका एजेन्टहरुलाई निरुत्साहित गर्ने, एजेन्सीमार्फत भर्ना तथा छनोट भएका कामदारहरुको कल्याणकारी पक्षको जिम्मेवारी लिने, एकअर्का संस्थाको संस्थागत पहिचान र सदस्यहरुबीचको सम्बन्ध सुदृढ गर्ने पनि सहमतिमा उल्लेख छ । त्यसैगरी अन्य सरकारहरुसँग सम्पर्क बढाउने, कामदारको भर्ना प्रक्रियापछि उत्पन्न हुने समस्याहरुमा एकअर्कालाई समर्थन गर्ने, संघ र पीआईकेमबीच एक भरपर्दा र विश्वसनीय सञ्चार च्यानल स्थापना गर्ने, भर्ना प्रक्रियाभित्र प्रतिबन्धित सिन्डिकेट वा अवैध अभ्यासहरु निरुत्साहित गर्ने, मेडिकल अनफिट समस्याको समाधानका लागि सहकार्य गर्ने विषय समेटिएको संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए । गत बिहीबार मलेसियास्थित सी लाइसेन्स होल्डर्स एशोसिएसन (पापस्मा)को आयोजनामा केलाङमा अन्तरक्रिया गरेकोे संघ प्रतिनिधिमण्डलले गत शुक्रबार मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलललाई भेटेर मागपत्र प्रमाणीकरणमा रहेका समस्यालगायत विभिन्न विषयमा ध्यानाकर्षण गराएको थियो ।