
By : Rojgari App
मलेसियामा ओभरटाइमको आशा नराख्नू : दूतावास
मलेसियास्थित नेपाली दूतावासले मलेसियामा ओभरटाइमको आशा नराखी वैदेशिक रोजगारीमा आउन नेपाली कामदारलाई आग्रह गरेकोे छ । लामो समयसम्म सम्भावित ओभरटाइमलाई समावेश गरेर मागपत्र प्रमाणीकरण गर्ने गरेकोे नेपाली दूतावासले ओभरटाइमको अवसर नरहेको बताएको छ ।
नेपाली दूतावासले छिटफुट कम्पनीले मात्रै ओभरटाइम दिने गरेकोे बताएको छ । मलेसियाको अर्थतन्त्र शिथिल भएका कारणले ओभरटाइमको सम्भावना लगभग शून्यको अवस्थामा झरेको दूतावासले साप्ताहिक फेसबुक कार्यक्रममा जनाएको छ । मलेसिया सरकारले स्वदेशी तथा विदेशी कामदारलाई दैनिक ८ घण्टाको दरले मासिक १५ सय रिँगेट तलब दिने गरेकोे छ ।
विगतमा दूतावासले अनुमानित ओभरटाइमलाई पनि अधिकारकै रूपमा लिएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले दूतावासको मान्यताले कामदारमा भ्रम सिर्जना गरेको भन्दै त्यस्तो अभ्यास स्थगन गर्न माग गरेकोे थियो । मलेसियामा सेक्युरिटी गार्डको रोजगारीमा जाने कामदारको हकमा ओभरटाइम उल्लेख गर्नु स्वभाविक मानिए पनि अन्य कामदारहरूले कम्पनीको अवस्था र मलेसियाको श्रम कानूनअनुसार मात्रै ओभरटाइम पाउने विषयमा संघले दूतावासलाई ध्यानाकर्षण गराएको थियो ।
मलेसियामा नयाँ कामदारको एप्रुभल खुला हुने विषयमा पनि प्रगति नभएको बताइएको छ । मलेसियामा प्रमुख राजनीतिक शक्तिहरू सत्ताको दाउपेचमा लागेकाले राष्ट्रिय तथा बहुराष्ट्रिय लगानीकर्तामा अन्योल सिर्जना भएको कतिपयको विश्लेषण छ ।