Date : 2023-06-25


मलेसियामा घरेलु कामदारबारे आईएलओको चासो

संस्थागत कामदारको अवस्थामा व्यापक सुधार भएपनि मलेसियामा घरेलु कामदारको अवस्था जोखिमको अवस्थामा रहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले बताएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदारको हक अधिकारका पक्षमा नीति निर्माण र पैरवी गर्दै आएको उक्त संस्थाले मलेसियाको घरपरिवारमा कार्यरत आप्रवासी कामदारमध्ये झण्डै एक तिहाइले जबरजस्ती श्रमको परिस्थितिमा काम गरिरहेको बताएको छ । हालै गरिएको एक सर्वेक्षण उद्धृत गर्दै आईएलओले निरन्तर अत्यधिक घण्टा काम गर्नुपर्ने, ओभरटाइमबापत ज्याला नदिने, तोकिएको ज्यालामा पनि कम दिने, आवागमनमा प्रतिबन्धजस्ता समस्या रहेको जनाएको छ । प्रायः घरेलु कामदारहरूलाई सामान्यतया खाना पकाउने, सरसफाइ, बाल हेरचाह, निजी सवारी चालक, पंक्षी संरक्षक र बगैंचा हेरचाहजस्ता घरेलु काममा लगाउने गरिएको छ । मलेसियाले नेपालबाट समेत घरेलु कामदार लैजान चाहेको छ । तर नेपालले सहमति जनाएको छैन । आईएलओले घरेलु कामदारहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै मलेसिया, सिंगापुर र थाइल्याण्डलाई घरेलु कामदार र जबरजस्ती श्रमसम्बन्धी राष्ट्रसंघीय महासन्धिहरू अनुमोदन गर्न, घरेलु कामको दक्ष प्रकृतिको पहिचान गर्न र कामदारहरूलाई आफ्नो रोजगारदातासँग बाँधिएको आप्रवासन मार्गहरू सुनिश्चित गर्न आग्रह गरेको छ ।