![](https://rojgariapp.com//storage/435/BBC-NEWS.png)
By : Rojgari App
महिलाका सन्तानको नक्कली पिता बन्न पुरुषलाई हजारौँ पाउन्ड
- प्याट्रिक क्लेहेन, दिव्या तलवार र ख्यु बी लु
- बीबीसी न्यूजनाइट
आप्रवासी महिलाहरूका सन्तानको बुबा भएको नाटक गरेर ब्रिटिश पुरुषहरूले हजारौँ पाउन्ड कमाइरहेको बीबीसीको एउटा अनुसन्धानले पत्ता लगाएको छ।
जन्मदर्ता प्रमाणपत्रमा ती शिशुको पिताका रूपमा आफ्नो नाम दिनका निम्ति उनीहरूलाई १०,००० पाउन्ड (१२,००० अमेरिकी डलर) सम्म दिने गरिएको पाइएको छ। ब्रिटिश नागरिकका सन्तानले यूकेको नागरिकता पाउँछन् अनि ती महिलाहरूलाई यूकेमा आवासीय अधिकार प्राप्त गर्न बाटो खुल्छ।
यस्ता कारोबारीहरूले फेसबुकमार्फत् व्यवसाय चलाएका छन् र उनीहरूले हजारौँ महिलाहरूलाई मद्दत गरेको दाबी गरेका छन्।
त्यस्ता सामग्री आफ्नो नियमानुसार प्रतिबन्धित भएको फेसबुकले बताएको छ।
बीबीसी न्यूजनाइटले गरेको अनुसन्धानले यूकेभरि विभिन्न समुदायमा यस्तो किर्ते भइरहेको पत्ता लगाएको छ।
अनुसन्धानले यूकेभरि सक्रिय बिचौलियाहरू फेला पारेको छ जसले नक्कली पिता हुन राजी ब्रिटिश पुरुष जुटाउने गर्छन्।
गोप्य ढङ्गले अनुसन्धानमा संलग्न एक जनाले आफू यूकेमा अवैध रूपले आइपुगेको गर्भवती महिला भएको नाटक गरिन् र यस्ता सेवा जुटाइदिने मानिसहरूसँग सम्पर्कमा पुगिन्।
थाई नाम गरेका एक बिचौलियाले उनीसँग नक्कली पिताको नाटक गर्ने कैयौँ ब्रिटिश पुरुषहरू सम्पर्कमा रहेको भन्दै सम्पूर्ण सेवाका निम्ति ११,००० पाउन्ड लाग्ने बताएका थिए।
गोप्य रूपमा कार्यरत न्यूजनाइकी अनुसन्धानकर्तालाई थाईले एजेन्टको सेवा दिने बताए
उनले सम्पूर्ण प्रक्रिया "एकदम सहज" भएको र शिशुका निम्ति ब्रिटिश पासपोर्ट दिलाउन आफूले "यथासम्भव प्रयास गर्ने" बताएका थिए।
फेसबुकमा विज्ञापन नगर्ने थाईले अधिकारीहरूलाई झुक्याउन एउटा गतिलो कहानी आफूले बनाउन सक्ने पनि बताए।
उनले एन्ड्रू नामक एक ब्रिटिश पुरुषसँग परिचय गराइदिए जो पिता बन्न राजी थिए। कुल सेवा शुल्कमध्ये ८,००० पाउन्ड एन्ड्रूले लिने कुरा भयो।
कुराकानीका बेला एन्ड्रूले उनी ब्रिटिश नागरिक भएको प्रमाणस्वरूप उनको पासपोर्ट देखाए। उनले अनुसन्धानकर्ता पत्रकारसँग सेल्फी पनि खिचाए।
न्यूजनाइट अनुसन्धानकर्ता (अनुहार नचिन्ने बनाइएको) र एन्ड्रू
नक्कली पिता बन्न राजी गराउने दाबी गर्ने एजेन्टहरूले बीबीसीले कुनै पैसा भने तिरेन।
पछि जब थाईलाई उनको कारोबारको वास्तविकताबारे बीबीसीले सोध्यो तब उनले कुनै गल्ती नगरेको भन्दै आफूलाई केही थाहा नभएको बताए।
एन्ड्रूले कुनै प्रतिक्रिया दिएनन्।
थी किम नामक अर्की एजेन्टले चाहिँ आफूले हजारौँ गर्भवती आप्रवासी महिलाहरूलाई मद्दत गरेको दाबी गरिन्।
उनले पिता बन्न राजी ब्रिटिश पुरुष आफूले जुटाइदिन सक्ने भन्दै ती पुरुषहरूले त्यसका निम्ति १०,००० पाउन्ड माग्ने गरेको भए पनि आफूले केवल ३०० पाउन्ड मात्र शुल्क लिने गरेको बताइन्।
"मैले प्रयोग गरेका सबै पुरुष यहीँ जन्मिएका हुन् र यसअघि कुनै शिशु तिनको नाममा दर्ता भएका छैनन्," थी किमले अनुसन्धानकर्तालाई भनिन्।
"यो सब कसरी गर्नुपर्छ भन्ने मलाई थाहा छ। पासपोर्ट नभएकोमा तपाईँले चिन्ता गर्नुपर्दैन। त्यो मिलिहाल्छ।"
थी किमले पनि पछि बीबीसीले टिप्पणीका निम्ति गरेको प्रश्नको उत्तर दिइनन्।
थी किम जसले नक्कली पिता बन्न ब्रिटिश पुरुष खोजिदिने बताएकी थिइन्
आप्रवासी मामिलामा विशेज्ञता भएकी वकिल एना गोन्जालेजका अनुसार नक्कली पिता खडा गर्ने यो काइदा "निकै विस्तृत" हुन्छ।
"यो एकदम परिष्कृत अनि पत्ता लगाउन कठिन हुन्छ," उनले भनिन्। "एक हिसाबले यसले महिलाहरू कति व्यग्र छन् र यूकेमा बस्ने अधिकार हासिल गर्न केसम्म गर्न सक्छन् भन्ने देखाउँछ।"
यदि कुनै आप्रवासी महिला अवैध रूपमा यूकेमा छिन् र उनले ब्रिटिश नागरिक वा त्यहाँ स्थायी आवासीय अधिकार भएका पुरुषसँग शिशु जन्माउँछिन् भने उक्त शिशु जन्मका आधारमा ब्रिटिश नागरिक हुन्छ।
त्यसपछि उक्त आमाले पारिवारिक नाताले भिसाको निवेदन दिन सक्छिन् र समयक्रममा नागरिकताका निम्ति पनि।
"यो नियम बालबालिकाको सुरक्षाका निम्ति बनाइएको हो न कि कुनै कागजपत्रबिनाका महिलालाई यूकेको भिसा दिन," गोन्जालेज भन्छिन्। "यो कानुनी छिद्र होइन, यसलाई त्यस रूपमा हेर्नु हुँदैन।"
बीबीसीले यस्तो अनियमितताको स्तर अनुमान गर्न सकेको छैन किनकि होम अफिस (गृह मन्त्रालय)ले आफूले अध्ययन गरेका यस्ता मामिलाको सङ्ख्या दिन सकेन।
साथै उसले ब्रिटिश बालबालिकाका कति गैरब्रिटिश अभिभावकहरूलाई भिसा दिएको छ भन्नेबारे पनि मन्त्रालयले कुनै तथ्याङ्क प्रकाशित गरेको छैन।