![](https://rojgariapp.com//storage/470/blod-bank.jpg)
By : Rojgari App
कुवेतमा विदेशी कामदारलाई प्रति युनिट रगतको साढे ८ हजार
कुवेत : कुवेतमा कार्यरत विदेशी कामदारहरूलाई प्रति युनिट रगतको २० केडी लिने कुवेत सरकारको निर्णयले नयाँ बहस निम्त्याएको छ । कुवेतको मन्त्रीस्तरीयबाट भएको आप्रवासी कामदारलाई प्रतियुनिट २० केडी (८ हजार ६ सय रुपैयाँ) लिने निर्णयलाई गैरकानूनी मान्न नसकिए पनि कुवेतले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डको उल्लंघन भएको कुवेतका अधिकारकर्मी वकिलहरूले बताएका छन् ।
नेपालमा शल्यक्रिया गर्नुपर्ने बिरामीले प्रति युनिट रगतको ६ सय रूपैयाँ मात्रै तिर्ने गरेका छन् । नेपाली कामदारका लागि यो अत्यन्तै महँगो हो । नेपालको हिसाबले हेर्ने हो भने उक्त मूल्य प्रति युनिट १४ गुणाले बढी पर्ने देखिन्छ ।
कुवेतमा कार्यरत पत्रकार दाहेम अल–काहतानीले कुवेती सरकारको निर्णयमा आपत्ति जनाउँदै बिरामीको शल्यक्रियामा अत्यावश्यक पर्ने रगतको मूल्यकै कारण ज्यान जान्छ भने के हुन्छ ? भन्ने प्रश्न उठाउँदै भनेका छन्, ‘आप्रवासी कामदार उक्त रकम तिर्न सक्दैनन् भने के उनीहरूलाई मर्न दिने ? यो कुवेतको लागि एकदमै आपत्तिजनक निर्णय हो र कसले सुझाव दियो र अनुमोदन गर्यो ? यसले देशको अन्तर्राष्ट्रिय प्रतिष्ठामा क्षति पुर्याउने छ ।’
उनले अगाडि भनेका छन्, ‘सरकारले नगदका लागि रगतका पोका बेच्ने ? भन्ने प्रश्नको जवाफ दिनुपर्ने छ ।’ केही कुवेतीहरूले भने रगतको मुल्यवृद्वि आफ्नो मुलुकमा बढिरहेको आप्रवासी कामदारहरूको भीड कम गर्ने उत्तम तरिका भएको बताएका छन् ।