Date : 2023-05-14


कतारद्वारा करिब साढे १४ खर्बको परियोजना

कतारले यस वर्षभित्र सम्पन्न गर्ने गरी ४ अर्ब १० करोड कतारी रियाल (करिब साढे १४ खर्ब रुपैयाँ) लगानीका २२ वटा परियोजना सार्वजनिक गरेको छ । केही समयअघि विश्वकप फुटबलको महाकुम्भ सफलतापूर्वक सम्पन्न भएको कतारमा आर्थिक गतिविधिमा सुस्तता आइरहेको अवस्थामा ४ अर्ब १० करोड कतारी रियालका परियोजना सम्पन्न गर्ने सार्वजनिक भएको हो ।

 

कतारको सार्वजनिक निर्माण प्राधिकरण (असघल)लाई उद्धृत गर्दै यहाँको पत्रिका द पेनिन्सुला कतारले सम्पन्न गरिने २२ परियोजनामध्ये ६ वटा हाल सञ्चालनमा रहेको, १० वटा परियोजना सञ्चालन हुने प्रक्रियामा रहेको र अन्य ६ वटा परियोजना कतारी आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिपछि सञ्चालन गरिने उल्लेख गरेकोे छ ।

 

सम्पन्न गरिने २२ परियोजनामा हमाद हस्पिटलको थप विस्तार, मदिना खलिफा हेल्थ सेन्टर, सिद्रा एकेडेमी, नगर विकास मन्त्रालयको भेटेनरी ल्याव भवन, नगरपालिकाको पशु चिकित्सा प्रयोगशालालगायतका परियोजना छन् । ती परियोजना सञ्चालन गर्दा कतारको आर्थिक गतिविधि चलायमान हुने र विदेशी कामदारको माग बढ्ने आंकलन गरिएको छ ।

 

परियोजना मामिला निर्देशक इन्जिन युसेफ अल इमादीका अनुसार विभिन्न निकायसँगको समन्वयमा निर्माण कार्य सम्पन्न गरिनेछ । 

 

निर्देशक अल इमादीले यहाँका कोर्ट कम्प्लेक्स र कोर्ट अफ क्यासेशन, अल थुमामा मुख्य हुलाक कार्यालय भवन, सडक यातायात भन्सार भवनलगायतका परियोजनाहरूको डिजाइन योजना शुरु भइसकेको बताएका छन् ।

 

कतारको सार्वजनिक निर्माण प्राधिकरणले गत हप्ता सर्वोच्च न्याय परिषद्को समन्वयमा अदालत परिसर परियोजना र अदालतको क्यासेशन परियोजनालाई समावेश गर्न ८ नयाँ अदालतहरू स्थापना गर्न डिजाइन प्रतियोगिता शुरु गर्ने घोषणा गरेको थियो ।

 

विश्वकप फुटबलपछि कतारमा नेपालबाट पुनः श्रम स्वीकृतिमा आउने कामदारको संख्या बढेपनि म्यानपावर कम्पनीबाट आउने नयाँ कामदारको संख्या ह्वात्तै घटेको छ । विश्वकप फुटबलअघि वैदेशिक रोजगारमा नेपाली कामदार जाने सूचीको पहिलोस्थानमा रहने गरेको कतार हाल चौथोमा पुगेको छ । हाल सबैभन्दा धेरै मलेसिया त्यसपछि क्रमशः साउदी अरेबिया, यूएई र कतारमा नेपाली कामदार आउने गरेका छन् ।