Date : 2023-06-22
कतारस्थित नेपाली दूतावासमा मोलतोल र ढिलासुस्तीको गुनासो
विदेशस्थित नेपाली दूतावासहरू द्विपक्षीय सम्बन्ध र आर्थिक कूटनीतिका माध्यम हुन् । दूतावास विदेशमा रहेका नेपालीका अविभावक पनि हुन् । तर विदेशस्थित नेपाली दूतावासहरूमा कार्यरत कर्मचारीलाई परराष्ट्र मन्त्रालयले पर्याप्त मार्गदर्शन गर्न नसक्दा नेपाली नियोगहरू बेथितिका पर्याय बन्ने गरेका छन् ।
पछिल्लोपटक कतारस्थित नेपाली दूतावासमाथि गुनासो बढेको छ । विश्वकप फुटबलपछि कतारको अर्थतन्त्रमा शिथिलता देखिएको छ । अन्य देशका दूतावासहरू आफ्नो मुलुकमा कामदारको डिमाण्ड लैजान उच्चरूपमा सक्रिय हुने, तर नेपाली दूतावासका कर्मचारी भने रोजगारदाता कम्पनीले ल्याएका मागपत्र प्रमाणीकरणका फाइलमा ढिलासुस्ती गर्ने, कारण खोज्दा कतिपयलाई बाहिर भेटौं भनी प्रस्ताव गर्ने, बाहिर नभेटेपछि कम्पनीको स्थलगत भ्रमण गर्नुपर्ने भन्दै बहाना खोजेर अलमल्याउने, कतिपय रोजगारदातालाई अघिल्लो महिनाको पे स्लिप पेस गर्नुपर्ने भन्दै हैरानी दिने गरिएको गुनासो बढेको छ ।
विश्वकप फुटबलमा ठूलो लगानी गरेको कतारमा पछिल्ला दिनमा सीमित परियोजना सञ्चालन हुँदा रोजगारको अवसर खुम्चिएको छ । तर प्राप्त भएका डिमाण्ड पनि समयमा प्रमाणीकरण नहुँदा रोजगारदाताले नेपालीको सट्टामा घाना, युगाण्डा, बंगलादेश र श्रीलंकाबाट कामदार लैजाने गरेको बताइएको छ ।
दूतावास स्रोतले भने गुनासो आएजस्तो ढिलासुस्ती नभएको भन्दै नेपाली कामदारको सुरक्षाका लागि मागपत्र प्रमाणीकरण अघि छानबिन स्वभाविक भएको बताएको छ ।