![](https://rojgariapp.com//storage/1011/qatar-king-nepal.jpg)
By : Rojgari App
कतारी अमिरको भ्रमण कामदारको हितमा केन्द्रित
राष्ट्रपति निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले मंगलबारदेखि नेपालको दुईदिने राजकीय भ्रमण गर्दै छन् । मध्यपूर्व एसियाबाट पहिलोपटक हुन लागेको यो उच्चस्तरको भ्रमणलाई नेपालले आफ्ना श्रमिकका हकहितमा उपयोग गर्नुपर्ने यस क्षेत्रका जानकारहरुको सुझाव छ ।
कतारमा हाल झण्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् । सन् २०१९ देखि २०२२ सम्म कतारका लागि नेपाली राजदूत रहेका नारद भारद्वाज कतारीहरु नेपाली कामदारप्रति बढी प्रभावित भएका कारण पनि यो विषयमा उनीहरुको पनि चासो रहेको बताउँछन् । ‘भ्रमणमा नेपाल सरकारले नेपाली श्रमिकको पारिश्रमिक, रोजगारको सुरक्षा, हकहितका विषयमा पहल गर्नुपर्छ, कतारबाट हुन लागेको यो उच्चस्तरको भ्रमण हो, कतारी अमिरले भ्रमणका क्रममा सहमति जनाएपछि त्यसमा लागू गर्न कुनै बाधा अवरोध हुँदैन ।’
कतार धनाढ्य र विकसित मुलुक भए पनि त्यहाँ नेपाली श्रमिकको पारिश्रमिक तुलनात्मकरूपमा न्यून छ । कतारमा नेपाली कामदारले दक्षिण कोरिया र इजरायलभन्दा न्यून मात्रामा पारिश्रमिक पाउने गरेका छन् । जबकि कतार तुलनात्मकरूपमा विकसित र धनी मुलुक हो । भ्रमणका क्रममा नेपाल सरकारले यसमा लबिङ गर्नुपर्ने पूर्वराजदूत भारद्वाजको सुझाव छ ।
कतारमा नेपाली श्रमिकलाई कार्यस्थलमा दुर्घटना भएमा मात्र बीमा क्षतिपूर्ति दिने व्यवस्था छ । तर बाटोमा वा अन्य दुर्घटनाका हकमा सो बीमा सुविधा लागू नहुने प्रावधान भएकाले यो विषय पनि नेपालले उठाउनुपर्ने उनी बताउँछन् । उनले भने, ‘कतारले यसअघि नै सुरक्षा क्षेत्रमा नेपाली नागरिक लैजाने प्रयास गरिरहेको थियो र नेपालले पनि त्यसबारेमा निर्णय गरेको छ । तर कार्यान्वयन भएको छैन । उनीहरुको दृष्टिकोण पनि बुझेर यो विषय पनि कतारी अमिरको भ्रमणका बेला अघि बढाउन सके आम्दानी हिसाबले ठूलो लाभ हुन्छ ।’
त्यस्तै कतारले महिला घरेलु कामदारका रुपमा नेपाली लैजान खोजेको छ । तर नेपालले यसमा प्रतिबन्ध गरेको छ । यद्यपि भ्रमण भिसामा खाडी मुलुक जाने र घरेलु कामदारका रुपमा काम गर्ने नेपाली महिलाको संख्या ठूलो छ । जुन व्यवस्थित पनि हुनसकेको छैन । घरेलु कामदारमा नेपाली महिला लुकीछिपी गइरहेककाले सुरक्षाको व्यापक प्याकेजसहित ग्यारेण्टी गरेर यो विषय खोल्न सकिने पूर्वराजदूत भारद्वाजको भनाइ छ ।
कतारी अमिरको भ्रमणका बेला नेपालले लगानीका विभिन्न क्षेत्रमा आह्वान गर्नुपर्ने उनी बताउँछन् । कतारले विश्वमा धेरै मुलुकका विभिन्न क्षेत्रमा लगानी गरिरहेको छ । नेपालमा पनि कानूनी सुरक्षाको ग्यारेण्टीसहित लगानीका लागि आह्वान गर्न सक्नुपर्ने उनको भनाइ छ । रियलस्टेट, जलविद्युत, पर्यटन, खानेपानी, कृषीलगायत क्षेत्रमा कतारले लगानी गर्न सक्छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले भ्रमणका बेला सरकारले नेपाली कामदारका हकहितका लागि पारिश्रमिक, सामाजिक सुरक्षा, रोजागारको ग्यारेण्टीको पहल गर्नुपर्नेमा जोड दिए । ‘कतारमा लाखौं नेपालीले लामो समयसम्म गरेको श्रमको कदर र आत्मीयताका लागि पनि कतारले नेपालमा लगानी गर्नुपर्छ । स्वदेश फर्केका नेपालीलाई उद्यम सञ्चालनका लागि र कतार जाने नेपाली श्रमिकको सीप अभिवृद्धिका लागि पनि कतारले सीप विकास केन्द्र खोल्नलाई पनि सहयोग गर्नुपर्छ,’ भण्डारीले भने ।