Date : 2025-06-27


कोरिया रोजगारीको ‘हामी मोबाइल एप’ शुभारम्भ

दक्षिण कोरिया सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई रोजगारसम्बन्धी अत्यावश्यक सूचना सरल र सहज तरिकाबाट उपलब्ध गराउनका लागि ‘हामी मोबाइल एप’को शुभारम्भ गरेको छ । कोरिया सरकारको आर्थिक सहयोगमा शुभारम्भ गरिएको उक्त एपको सञ्चालनमा भने नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहकार्य रहनेछ । एपको शुभारम्भ बिहीबार श्रममन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । श्रममन्त्री भण्डारीले श्रम बजारमा डिजिटल प्रविधिको प्रयोगमार्फत पारदर्शिता र नीतिगत निर्णयमा सुधार गर्ने सरकारको योजना रहेको बताए । सबैको सहयोग र सहकार्यका लागि आह्वान गर्दै सरोकारवालासँगको सहकार्यमा सामूहिक प्रयासबाट सुरक्षित, मर्यादित श्रम व्यवस्थापन सम्भव हुने बताउँदै उनले उक्त एपमा नेपाली र अंग्रेजी भाषामा प्रयोगकर्तामैत्री इन्टरफेसका साथ सीप विकास, वित्तीय योजना र मानसिक स्वास्थ्यका लागि आवश्यक स्रोतहरू समावेश गरिएको बताए । त्यस अवसरमा नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले सही, भरपर्दो र समयसापेक्ष सूचना पहुँच राख्न यस एपले श्रमिकको आवश्यकताका आधारमा सहयोग र मार्गदर्शन प्रदान गर्ने जानकारी दिए । उनले कोरियाली सरकारले कोरियामा काम गरी फर्केका आप्रवासी कामदार नेपालको भविष्यका लागि महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गरे ।