By : Rojgari App
कन्सुलर विभागबाट प्रमाणित प्रहरी रिपोर्टका आधारमा युएईको भिसा
संयुक्त अरब इमिरेट्स (युएई)ले परराष्ट्र मन्त्रालय कन्सुलर विभागबाट प्रमाणित प्रहरी रिपोर्टका आधारमा श्रम भिसा जारी गर्न थालेको छ । युएईले नेपाली नागरिकले भिजिट र श्रम भिसाका लागि एप्लाई गर्दा नेपाल प्रहरीले जारी गरेको असल चालचलन रिपोर्ट नेपालस्थित युएईको राजदूतावास तथा कन्सुलर विभागबाट एटेस्टेसन अनिवार्य गरिएकोमा वैदेशिक रोजगार व्यवसायीबीच चल्तीको भाषा मिनिस्ट्र अफ फरेन एफियर्स ‘मोफा’ कन्सुलर विभागबाट प्रमाणीकरण गरेको भए पुग्ने भएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको युएई समस्या हेर्ने जिम्मेवारी पाएका तृतीय उपाध्यक्ष वैकुण्ठ पौडेल ‘वैभव’ले गत भदौको अप्रत्यासित जेनजी आन्दोलनपछि अघोषित रूपमा रोकिएको भिजिट भिसा खुलाउँदा प्रहरीले दिने चालचलन रिपोर्ट ‘मोफा’ र युएई राजदूतावासबाट अनिवार्य प्रमाणीकरण गरिएकोमा केही दिनयता युएई राजदूतावास प्रमाणीकरण नभई ‘मोफा’ गरेको प्रहरी चालचलन भए पनि सहज रूपमा भिसा जारी हुन थालेको छ । युएईले गरेको भिसासम्बन्धी कार्यशैलीमा परिवर्तन भएपछि व्यवसायीको समय र रकम बचत भएको उनले टिप्पणी गरे ।
जेनजी आन्दोलनपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र युएईमा कामदार पठाउने वैदेशिक रोजगार व्यवसायीले प्रहरी रिपोर्ट लिई नेपालीका लागि भिसा खुलाउन पहल गर्न युएईस्थित नेपाली राजदूतावास र नेपाल सरकारलाई आग्रह गर्दै आएका थिए । नेपालमा भएको जेनजी आन्दोलनपछि युएईले वर्किङ भिसामा अघोषित रोक लगाउँदा नेपालबाट जाने नयाँ कामदारको संख्यामा ६० प्रतिशत हाराहारीमा कमी आएको थियो भने युएईको हकमा गत वर्ष कात्तिकको तुलनामा यस वर्ष कात्तिकमा संस्थागत रूपमा ९८ प्रतिशतभन्दा बढीले कमी आएको थियो । गत वर्ष कात्तिकमा १४ हजार २९ जना युएई गएकोमा यस वर्ष कात्तिकमा २ सय ६५ जना मात्रै गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।