Date : 2023-06-28


कानुनले दिँदैन तर नेपाली युवाहरू किन र कसरी रुसी सेनामा भर्ती भइरहेका छन्

राज केही वर्षअघि रुस गएका हुन्। उनी आफूलाई विद्यार्थी भनेर चिनाउन चाहन्छन्। तर हिजोआज "नेपालीहरूलाई रुसी सेनामा भर्ती हुन सघाउने व्यक्ति" का रूपमा उनको नयाँ परिचय बनेको छ। प्रत्येक दिन ४०-५० जना नेपालीले आफूसँग सम्पर्क गरेर एउटै प्रश्न सोध्ने गरेको उनी बताउँछन्। “रुसी सेनामा भर्ती हुन के गर्नुपर्छ?” “मैले केही भाषा नजान्ने साथीभाइलाई चिनजानको आधारमा [रुसी सेनाको भर्तीमा] फारम भर्न सहयोग गरेको थिएँ। अहिले उनीहरूले नै रुसी सेनामा भर्ती हुन चाहने सबैलाई मेरो नम्बर दिइरहेका छन्,” उनले बीबीसी न्यूज नेपालीसँगको संवाद यसरी सुरु गरे। केही नेपालीभाषी युवाहरूले आफू रुसी सेनामा भर्ती भएको भन्दै टिकटकमा भिडिओ हालेपछि बीबीसीले उनीहरूसँग दुई साताअघि सम्पर्क गरेको थियो। हामीले तीमध्ये एक जनाबाट राजबारे जानकारी पाएका थियौँ। सुरक्षाका कारण हामीले उनको पहिलो नाम मात्र प्रयोग गरेका छौँ। अध्ययनबाहेक आफूले सामान्यतया रुसमा पढ्न चाहने नेपालीहरूलाई "शैक्षिक परामर्श" दिने गरेको उनको दाबी छ। यद्यपि विगत केही महिनादेखि अध्ययनका लागि नभई रुसी सेनामा भर्तीको सम्बन्धमा सयौँ जिज्ञासा र प्रश्न आएको उनी बताउँछन्। उनका अनुसार नेपालबाट भूतपूर्व सैनिक तथा प्रहरीदेखि वैदेशिक रोजगारीका लागि जान इच्छुक तर अन्य देशमा भिसा नलागेका व्यक्तिहरूले पनि रुसी सेनामा भर्ती हुने इच्छा देखाएका छन्। अर्थात् त्यस्ता व्यक्तिहरू उनको सम्पर्कमा पुगेका हुन्। रुसी सेनामा नेपाली नागरिकको भर्ती गैरकानुनी हो भन्ने आफूलाई थाहा नभएको राजको भनाइ छ। आफूले सेनामा भर्ती हुन चाहने वा भर्ती भएका व्यक्तिबाट कुनै आर्थिक लाभ नलिएको उनले दाबी गरे।